जनकपुर, फागुन ३० ।
नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले भारतले नेपालमाथि गरेको नाकाबन्दी एमालेले असफल गराएको दावी गरेका छन् ।
सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले नेपालको इतिहासमा भारतसंग आँखा आँखा जुधाएर कुरा गरेर नाकाबन्दी असफल पारेको बताएका हुन् ।
उनले मुलुकमा रहेका अधिकांश दलका नेताहरु भारत सरकारको चाकडी गर्नका लागि टाउको निहुँराएर आशीर्वाद थाप्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले माओवादी देखि मधेशवादी दलहरुसम्मले भारतको चाकडी गरेको आरोप लगाए ।
मधेश आन्दोलनको क्रममा लामो समयसम्म आन्दोलनकारीले नाकाबन्दी गरेको स्मरण गर्दै उनले एमालेले त्यतिबेलापनि भारतसंग नडराएको जिकिर गर्दै अन्ततः नाकाबन्दी खोलाएरै छाडिएको समेत दावी गरे । उनले एमालेले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याएने बताएका छन् ।
कम्युनिष्टले दुई तिहाईको बहुमत हुँदा समेत काम गर्न नसकेको आरोप लागि रहेको भन्दै उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन । माओवादीलागतयकासँगको वाम गठबन्धन पश्चात बहुमतको बनेको र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात करिब दुई तिहाईको बहुमत भएको थियो तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउँछ ।’
उनले एमाले पार्टी कुनै नेता जिमदारी नरहेको बताए । श्रमजिवी जनता, हरेक कार्यकर्ताको पार्टी रहेको भन्दै माधव नेपालले एमालेलाई आफ्नो जिमदारी र विर्ता ठानेको बताए ।
उनले माधव नेपालले पार्टीलाई आफ्नो जिमदारी ठानेको र अरु नेता भएपछि उनी बस्न नसकेको टिप्पणी गरे । उनले भने, ‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु । उहाँको केही समस्या छैन, एउटा मात्र समस्या छ, त्यो हो उहाँ एमालेलाई आफ्नो जिम्दारी ठान्नुहुन्छ । उनको जिमदारीमा कोही आएर नेता भएपछि उनी रहनै सकेनन्’, उनले अगाडी भने, ‘१४ वर्ष जेल बसेका केपी ओलीलाई माधव नेपालज्युले पचाउनै सकेनन् ।’
उनले कम्युनिष्ट पार्टीलाई जिन्दाबाद भनेपनि पार्टीभित्रको जिमदारीलाई मुर्दाबाद भन्नुपर्ने बताए ।
त्यस्तै उनले प्रचण्डले केपी ओली दुई पटक किड्नी फेरेकोले जान्छ, भनेर दुई अध्यक्षीय प्रणाली लागु गरे, तर त्यस्तो नभएपछि नेपाल र दाहालको साँठगाँठ बनेको र पार्टी विभाजन भएको बताए ।
उनले भने, ‘पार्टीमा रहेका विभिन्न क्षेत्र, जात, समुदायका व्यक्तिलाई साथमा लिएर जान सक्नुपर्छ’, उनले अघि थप्दै भने, ‘नेताको नेतृत्वलाई स्विकार गरे, नेताहरुको निर्णयको पालन गरे, नेताहरु सबैलाई समेटेर अगाडी बढे मात्र एमाले मजबुत हुन्छ ।’ एमाले किता कितामा बाँडिए दुभाग्यपूर्ण रहेको उनले बताए ।
त्यस्तै एमालेका सचिव रघुवीर महासेठले एमालेलाई मधेश विरोधी भन्नेहरु एमालेको सरकारमा सहभागी भएर एमाले मधेश विरोधी नरहेको पुष्टि गरिसकेको बताए । उनले सुरुमा उपेन्द्र यादवको नेतृत्वमा र पछि राजेन्द्र महतोको नेतृत्वमा मधेशवादी दलले एमालेको सरकारमा सहभागी भएर एमाले मधेश विरोधी नरहेको दावी समेत गरे ।उद्घाटन सत्रमा एमालेका केन्द्रिय सदस्य रामचन्द्र मण्डल, पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, पूर्वमन्त्री जुली महतो, सुमन प्याकुरेललगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनमा करिब ११ सय प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ नेतृत्वका लागि मंगलबार बन्द सत्र हुनेछन् ।
धनुषा एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका ४ जना आकांक्षी छन् । वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अजय यादव र लक्ष्मी यादवलगायतका अध्यक्ष पदका आकांक्षी छन् ।
एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनमा करिब ११ सय प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ नेतृत्वका लागि मंगलबार बन्द सत्र हुनेछन् ।