
जनकपुर, फागुन ३०
मधेस प्रदेश सरकारविरुद्धको रिटमाथि भएको बहसमा मधेश सरकारलाई उच्च अदालत जनकपुरले बोलाएको छ ।
उच्च अदालत जनकपुरमा मधेश प्रदेश सरकारविरुद्ध परेको रिटमाथि भएको बहसपछि छलफलका लागि मधेश सरकारसहितकालाई बोलाएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जनकपुर आयुर्वेद औषधालय, औषधालयकी प्रमुख डा. सीमा झा र अबैध दाबी गरिएका तीनजनासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
रामप्रवेश मण्डल र पुरनमल्ल ठाकुरले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा विपक्षीलाई छलफलका लागि आज हाजिर हुन भनिएको थियो । उच्च अदालतले दुबै पक्षलाई चैत ८ गते छलफलका लागि बोलाएको उच्च अदालत जनकपुरले जनाएको छ ।
आयुर्वेद चिकित्साअन्तर्गत बिएमएमएस अध्ययन गरेकाहरूलाई बेवास्ता गर्दै मन्त्रालय र आयुर्वेद औषधालयले पैसाको चलखेल गरेर कम योग्यता भएका आवेदकलाई करारमा नियुक्त गरेकोले अदालतमा मुद्दा दर्ता गर्नु परेको निवेदक ठाकुरले बताए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु प्रदेश तहको कार्यक्रम अन्तर्गत जनकपुर आयुर्वेद औषधालयले नागरिक आरोग्य सेवा केन्द्रका लागि करार नियुक्त गर्ने भनी वैद्य पदमा गत माघ २५ मा विज्ञापन प्रकाशित गरेको थियो ।
सो विज्ञापन आधारमा कम योग्यता भएका व्यक्तिलाई कानून विपरित करारमा नियुक्त गरेको भन्दै मधेश सरकारसहितकालाई विपक्षी बनाई मुद्दा दर्ता गरेको थियो ।