एजेन्सी, चैत्र १

भारतको पञ्जाब राज्यका नयाँ मुख्यमन्त्री भागवन्त मानले बुधबार पद तथा गोपनियताको सपथ एक गाउँमा लिँदैछन् ।

पहिलो पटक पञ्जाबमा सरकार बनाउन लागेका आम आदमी पार्टी (आप) का नेताले राजधानी चन्डीगढमा नभई गाउँमा सपथ लिँदै छन् ।
भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा सरदार भगत सिंहको गाउँमा खट्कर कलानमा उनको सपथ हुने हिन्दुस्तान टाइम्सले जनाएको छ । मानले आफ्नो सपथ समारोहमा सहभागी हुन सबै पञ्जाबीलाई निम्तो समेत दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत एक भिडियो सार्वजनिक गर्दै ४८ वर्षीय मानले आफू एक्लैले पञ्जाबको मुख्यमन्त्रीको सपथ नलिने बरू सबै पञ्जाबीले एकसाथ मुख्यमन्त्रीको सपथ लिने उनको भनाई छ ।

आपका संस्थापक समेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि मानको सपथ ग्रहण समारोहमा सहभागी हुँदैछन् ।

मार्च १० मा आएको पञ्जाब विधान सभाको मतपरिणाममा आपले ११७ मध्ये ९२ सिट जितेको छ ।
आफ्ना सांसदहरूलाई नवमुख्यमन्त्री मानले राजधानी चन्डीगढमा नबस्न र भोट माग्न गाउँ–गाउँ गए जसरी काम गर्न गाउँ–गाउँ जान निर्देशन दिएका छन् ।