जनकपुर, चैत्र १

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल झण्डैले फुटको कगारबाट बँच्न सफल भएपछि पूर्व राष्ट्रिय जनता पार्टी सल्बलाउँन थालेका छन् ।

जसपा नेपाल भित्र पूर्व राजपाका नेताहरु सल्बलाउँदै संगठित हुन थालेका छन् । यसको नेतृत्व भने पूर्वमन्त्री समेत रहेका नेता महिन्द्रराय यादवले गरिरहेका छन् ।

जसपा नेपाल विभाजित हुँदा पूर्वराजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायतका नेताहरु अलग भएर अर्को पार्टी गठन गरेपनि महेन्द्रराय यादव भने उपेन्द्र यादव पक्षमै रहे । उनीसंगै महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमनलगायत पूर्वराजपाका नेताहरु जसपामै रहे ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको जसपाको समानान्तर समिति भंग भएसंगै अस्तित्वविहीन रहेका पूर्व राजपा नेपालका नेताहरु एकजुट हुन थालेका छन् ।

पूर्वराजपालाई भागवण्डाको क्रममा उपेक्षा गरिएको भन्दै उनीहरु संगठित भएको जनाइएको छ ।

५०४ सदस्यीय केन्द्रीय समितिमा पूर्वराजपाका मात्र १३० जना छन् । ३३ जनाको कार्यकारिणी समितिमा १० र १९ सांसदमध्ये पूर्व राजपाको सात जना रहेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार जसपा नेपाल बैठकको तयारी चलिरहँदा पूर्वराजपाभित्रका नेताहरुको तीन दिनसम्म बैठक समेत बसेको थियो । सो बैठकबाटै एकजुट हुने सहमत जुटेको थियो ।

जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले समायोजनको काम चलिरहेको र कतिपय कामहरु बाँकी रहेका कारण छलफलका लागि बसेको बताएपनि भागबण्डाकै लागि आफूहरु संगठित नभएको उनको जिकिर छ ।

मधेश प्रदेशका प्रदेशसभा सदस्य समेत रहेका कार्यकारिणी सदस्य मनिष सुमनले पार्टीसँग सरसल्लाह गरेर नै आफूहरु बसेको बताए । पार्टीमा भइरहेको समायोजनको कामलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको उनको भनाई छ ।