
सर्लाही, चैत्र १
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण भएको १३२÷३३ केभीको सबस्टेसनको उद्घाटन गरेकी छिन् ।
मंगलबार सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित नवलपुरमा सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त निर्माण भएको १३२\३३ केभी सबस्टेसनको उद्घाटन गरेकी हुन् ।
सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत उपलब्ध गराउने उद्देश्यले सबस्टेसनको निर्माण गरिएको उनले बताइन् ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरिन् ।
तराई मधेस क्षेत्रमा सिँचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरू विस्थापित गर्न आग्रह गरिन् ।
उनले भनिन् ,‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौं, विद्युतको प्रयोग गरी सिँचाइ गरेर उत्पादन बृद्धि गरौं, बाँझो खेत नराखौं,’ उनले भनिन्, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौं, कृषि गरौं र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौं ।’
यस कार्यक्रममा सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेको बताए। उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए ।
सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो। ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो। नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ। सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ ।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ। सबस्टेसनमा १३२\३३ केभी, ६३ एमभिए र ३३\११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ। यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३\११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइएको छ ।
सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष ०७४\७५ र मुख्य निर्माण आव २०७५÷७६मा सुरु गरिएको थियो। कोभिड–१९को महामारी कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो। सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।
यता मन्त्री भुसालले धनुषा स्थित ढल्केवरमा रहेको सबस्टेसनको समेत अनुगमन गरिन् ।