
नयाँ नेतृत्व चयन प्रतिनिधिबाट हुनुपर्ने माग
जनकपुर, चैत १
धनुषा एमालेको बन्द सत्र निकै ढिलो गरि सुरु भएको छ ।
बन्द सत्र सुरु भएलगत्तै नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बन्द सत्रमा आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेलगत्तै सहभागि प्रतिनिधिहरुले व्यापकरुपमा असन्तुष्ट जनाउँदै विरोध गरेका छन् ।
आर्थिक प्रतिवेदनमा व्यापकरुपमा अनियमितता भएको, जथाभावी खर्च विवरण प्रस्तुत गरिएको जनाउँदै प्रतिनिधिहरुले अध्यक्ष राजकिशोर यादवले पेस गरेको प्रतिवेदनको विरोध गरेका छन् ।
सहभागी भएका एक प्रतिनिधिका अनुसार आर्थिक प्रतिवेदनमा आय व्ययको स्रोत नखुलाएको र जथाभावी खर्चहरु उल्लेख गरेकाले हलमा उपस्थिति रहेका प्रतिनिधिहरुले विरोध गरेका छन् ।
बन्द सत्रमा आर्थिक तथा राजनीतिक प्रतिवेदन अध्यक्षले पेस गरिरहँदा नेतृत्व चयनका विषयमा पनि आवाज उठेको रामप्रबोध राउतले जानकारी दिए ।
उनले निर्धारित समय भन्दा ढिला गरि बन्द सत्र सुरु भएकाले पनि प्रतिनिधिहरुले नेतृत्वको विरोध गर्दै आर्थिक अनियमितता गर्ने नेतृत्वमाथि पुनः विश्वास नभएकाले बन्द सत्रबाटै नयाँ नेतृत्व चयनका प्रक्रिया अघि बढाउनका लागि आवाज उठेको बताए ।
सोमबार देखि सुरु भएको एमालेको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न पछि मंगलबार विहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने र नयाँ नेतृत्वका लागि हलमै सहभागी प्रतिनिधिहरुले चयन गर्ने योजना रहेपनि निर्धारित समयमा सुरु नभई करिब ४ बजे तर्फ बन्द सत्र सुरु गरिएको छ ।
बन्द सत्र अघि नेतृत्वका आकांक्षीहरु, शीर्षनेतृत्व र मधेश प्रदेशका पदाधिकारीसहितको बैठक विहानदेखि दिउँसो सम्म चलेको थियो । बन्द कोठामा भएको बैठकमा एमाले धनुषाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका थिए ।
आकांक्षीले दावीसहितको अडान नछोडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्य रामचन्द्र मण्डल, संजिव झा सुरजलगायतका नेताहरुले सहमतिका लागि प्रयास जारी राखेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि मोटामोटी सहमति भएसंगै बन्द सत्र सुरु गरिएको इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।
उनले नयाँ नेतृत्वका चयन बन्दसत्रबाटै छलफल गरिने पनि बताए । बन्द कोठामा शीर्षनेतृत्व वीच भएको कुराकानी भने गोप्य नै राखिएको छ ।
एमाले नेताहरुका अनुसार राजकिशोर यादवलाई अध्यक्षमा निरन्तरता दिन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशन रहेकाले उनलाई अध्यक्ष बनाउनेगरी जिल्ला कमिटीलाई पूर्णता दिने तयारी भएको जनाइएको छ । राजकिशोरलाई सर्वसम्मत अध्यक्ष बनाएपछि अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या भएको स्रोतको भनाइ छ । अन्य आाकंक्षीले उधारोमा पद नलिने अडान राखेको एक आकांक्षीले बताए ।
अध्यक्षका आकांक्षीमध्ये तेजनारायण यादव पूर्वमाओवादी पक्षका हुन् भने अक्षयलाल महतो रघुवीर महासेठ निकट र लक्ष्मी यादव भने सञ्जीव पक्षधर हुन् । केन्द्रमा सचिव महासेठसमेत ओली पक्षधर रहेपनि जिल्ला अध्यक्ष राजकिशोर यादव उनीसँग सन्तुष्ट छैनन् । महासेठको कार्यशैलीको विरोध गर्दै उनले केही समय पहिला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाण्डौ आएर गुनासो गरेका थिए ।
यता पूर्वमाओवादी परित्याग गरेर एमाले बनेका तेजनारायण यादवले पनि अध्यक्ष दावी गर्न छोडेका छैनन् । हालका अध्यक्ष राजकिशोर यादव स्वेच्छाचारी ढंगले चलेको भन्दै वर्तमान सचिव समेत रहेका तेजनारायणले विरोध गदै आएका छन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्षमा राजकिशोर यादव, उपाध्यक्षमा अक्षयलाल महतो, सचिवमा तेजनारायण यादवलाई सर्वसम्मत चयन गर्ने आन्तरिक तयारी छ । तर अध्यक्ष पदका अर्का आकांक्षी लक्ष्मी यादवको व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् ।
बन्दसत्रका लागि पार्टीले सात सय भन्दा बढी प्रतिनिधि तोकेको छ भने जबस मोर्चाबाट करिब तीन सय प्रतिनिधि तोक्ने व्यवस्था गरिएपनि प्रतिनिधिका रुपमा जबस मोर्चाका घटक संगठनलाई बेवास्ता गरेको भन्दै प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामतले विरोध गरेका छन् ।