जनकपुर, चैत्र १
मारवाडी सेवा समितिको भातृ संगठन मारवाडी युवा मञ्चले प्रमुख निर्वाचन अधिकृत निर्मल चौधरीले विधान गतिविधि कार्य गरेको आरोप लगाएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचन क्रममा प्रमुख निर्वाचन अधिकृत चौधरीले छलछाम र षड्यन्त्र गर्दै विधान विपरीतको गतिविधिहरु गरिरहेको भन्दै उम्मेदवारहरुले आरोप लगाइएका छन् ।
मारवाडी युवा मञ्चको बुधबार हुन लागेको निर्वाचनमा उम्मेदवार हुन अयोग्य पदाधिकारीहरुलाई पनि प्रमुख निर्वाचन अधिकृत चौधरीले आफू अनुकूल उम्मेदवार बनाउन लागेको अन्य उम्मेदवारहरुको आरोप छ ।
समितिको विधानको परिच्छेद ४ को बुँदा नम्बर ११ को (ङ)मा एक पदावधि अर्थात ३ वर्षभित्र कम्तिमा दुईवटा साधारण सभा अनिवार्य रुपमा गर्नुपर्ने स्पष्ट उल्लेख छ । साधारण सभा नगरेमा वर्तमान कार्यसमितिका पदाधिकारी एवं कार्यकारिणी सदस्यहरु आगामी निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था विधानमै उल्लेख छ ।
तर, एकपटक पनि साधारण सभा नगरेको वर्तमान कार्यसमितिका पदाधिकारीहरु पुनः अर्को निर्वाचनमा आफ्नै संस्थाको विधान विपरीत उम्मेदवार बन्न लागेको आरोप लगाइएको छ ।
बुधबार हुन लागेको निर्वाचनमा वर्तमान महासचिव राहुल सिंघानिया र उपाध्यक्ष आशिष झुनझुनवाला अध्यक्षका उम्मेदवार बनेका छन् । त्यस्तै, वर्तमान सचिव अंकित अग्रवाल उपाध्यक्षमा, कार्यकारिणी सदस्य उमंग सिंघानिया कोषाध्यक्षमा, कार्यकारिणी सदस्य यस सर्राफ सचिवको उम्मेदवार बनेका छन् ।
मञ्च आवद्ध केही युवाहरुले विधान अनुरुप मारवाडी सेवा समितिको साधारण सभामा मारवाडी युवा मञ्चको लागि पनि सोही ढाँचा अनूकुल गर्न÷गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदनसमेत दिएका छन् ।
विगतको कार्यकालमा आफ्नो संगठनको युवा भेला नगरिएको यर्थात बुझिएको र देखिएकोले सम्पूर्ण निर्वाचन प्रक्रिया नै विधान विपरीत रहेको उनीहरुको ठहर छ । युवाहरुले यस्ता भूललाई सच्याएर विधान अनुरुप निर्वाचन प्रक्रियालाई अगाडि बढाउन माग गरेका छन् ।
मारवाडी सेवा समितिको विधान नै युवा मञ्च र महिला मञ्चमासमेत लागू हुनेगरि साधारण सभाबाटै पारित भएको अवस्थामा मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख निर्वाचन अधिकृत निर्मल चौधरीले आफू अनूकुल निर्वाचनमा छलछाम गरेको आरोप लागेको हो ।
यता, प्रमुख निर्वाचन अधिकृत चौधरीले भने मारवाडी सेवा समितिको विधान युवा मञ्चको हकमा लागू नहुने दावी गरेका छन् ।
उनले साधारण सभा नगरेमा वर्तमान कार्यसमितिका पदाधिकारी एवं कार्यकारिणी सदस्यहरु आगामी निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था मारवाडी सेवा समितिको हकमा रहेको जिकिर गरे । यस्तो व्यवस्था भने युवा मञ्चमा नरहेको उनले दावी गरे ।