जनकपुर, चैत १
निर्धारित समय भन्दा निकै ढिलागरि सुरु भएको धनुषा एमालेको बन्द सत्र बुधबारसम्मका लागि स्थगित भएको छ ।
करिब ४ बजेदेखि सुरु भएको बन्द सत्रमा नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले मौखिकरुपमै सात वर्षे कार्यकालसंगैको आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेपछि प्रतिनिधिहरुको कडारुपमा विरोध गरेका हुन् ।
बन्द सत्रमा अध्यक्ष यादवले मौखिकरुपमै आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरेलगत्तै सहभागि प्रतिनिधिहरुले असन्तुष्ट जनाउँदै लिखित दस्तावेजसहितको प्रतिवेदन उपलब्ध गराउन भन्दै एमालेको कानून मौखिक नभई लिखित प्रतिवेदन पेस गर्न प्रतिनिधिहरुले जोडदाररुपमा आवाज उठाउँदै बन्द सत्रबाट बाहिरिन थाल्दा आजको लागि बन्दसत्र स्थगित गरिएको छ ।
बन्द सत्रमा ३२ जना प्रतिनिधिले अध्यक्ष यादवले मौखिकरुपमा प्रस्तुत गरिएको प्रतिवेदनमाथि बोल्दै विरोधसहित असन्तुष्टि जनाएका छन् । बोल्ने अधिकांश प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि निर्वाचन मार्फत नै गरिनुपर्ने भन्दै अध्यक्ष मण्डललाई सुझाव दिएका छन् ।
ढिला गरि बन्दसत्र सुचारु भएको र आजको बन्दसत्रमा आर्थिक र राजनीतिक प्रतिवेदन पेससंगै छलफल भएको एमाले धनुषाको सातौँ अधिवेशनको अध्यक्ष मण्डल सदस्य समेत रहेका धनुषा ईन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । उनले बुधबार हुने बन्दसत्रमा नयाँ नेतृत्व सर्वसम्मतरुपमै चयन गरिने भन्दै ११ बजे देखि बन्दसत्र सुरु हुने बताए ।
उनले नेतृत्व चयनका लागि मोटामाटी सर्वसम्मतीरुपमै चयन हुने र फेरी पनि पुरानै कमिटी व्यूतिनसक्ने संकेत गरे । तर उनले अहिले नै नेतृत्व चयनबारे बोल्न चाहेनन् ।
यता अध्यक्ष राजकिशोर यादवले मौखिकरुपमा पेस गरिएको आर्थिक प्रतिवेदनमा सात वर्ष अवधिसम्ममा उनले के के गरे, कहाँ कहाँ गरे, कुन कार्यक्रम, बैठक, विभिन्न सांगठनिक गतिविधिमा कति खर्च भयो, त्यसको लेखाजोखा र तथ्यांकसम्म लिखितरुपमा बन्दसत्रमा पेस नगरिएकोमा प्रतिनिधि समेत रहेका नगराईन नगरपालिका समितिको अध्यक्ष रामप्रमोद राउतले जानकारी दिए । उनले राजनीतिक प्रतिवेदन पनि मौखिकरुपमै गरेकोमा नेतृत्वको कडा आलोचना गर्दै राणाकालिन शासक झैँ प्रतिवेदन पेस गरेको भनि टिप्पणी गरे ।
त्यस्तै अर्का प्रतिनिधि सन्तोष मण्डलले राजनीतिक प्रतिवेदन समेत मौखिकरुपमै पेस गरेकोमा आपत्ति जनाए । उनले अध्यक्षले सात वर्षे कार्यकालमा पार्टीका कति जना कुन कारणले मारिए, शहिद भए, मधेश आन्दोलनको क्रममा के के क्षति भयो, स्थानीय निर्वाचनमा के कुन कारणले हार बेहोर्नु परेको र एमाले माओवादीसंगको एकीकरण पछिको पार्टीको अवस्था बारे समसमायिक राजनीतिक घटना क्रमलगायतका विषयमा लिखितरुपमा उपलब्ध नगर्नु नेतृत्व असफलताको प्रमाण रहेको बताए ।
उनले यसरी नेतृत्वका लागि पुनः पुरानै व्यक्तिलाई दोहोर्याउनाले नयाँ चिजको विकास नहुने भएकाले निर्वाचन प्रक्रियाबाटै नेतृत्वको चयन गर्न जोडदार माग गरे ।
उनले पनि नयाँ नेतृत्वका लागि चयन गर्नका लागि भोलीसम्मका लागि बन्द सत्र स्थगित गरिए समेत प्रस्ट पारे ।
आर्थिक प्रतिवेदनमा व्यापकरुपमा अनियमितता भएको, जथाभावी खर्च विवरण प्रस्तुत गरिएको जनाउँदै प्रतिनिधिहरुले अध्यक्ष राजकिशोर यादवले मौखिकरुपमा पेस गरेको प्रतिवेदनको प्रतिनिधिहरुले कडा विरोधसंगै असन्तुष्टि जनाएका थिए ।
सहभागी भएका एक प्रतिनिधिका अनुसार आर्थिक प्रतिवेदनमा आय व्ययको स्रोत नखुलाएको र जथाभावी खर्चहरु उल्लेख गरेकाले हलमा उपस्थिति रहेका प्रतिनिधिहरुले विरोध गरेका हुन् ।
निर्धारित समय भन्दा ढिला गरि बन्द सत्र सुरु भएकाले पनि प्रतिनिधिहरुले नेतृत्वको विरोध गर्दै आर्थिक अनियमितता गर्ने नेतृत्वमाथि पुनः विश्वास नभएकाले बन्द सत्रबाटै नयाँ नेतृत्व चयनका प्रक्रिया अघि बढाउनका लागि आवाज उठेको अर्का एक प्रतिनिधिले बताए ।
सोमबार देखि सुरु भएको एमालेको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न पछि मंगलबार विहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने र नयाँ नेतृत्वका लागि हलमै सहभागी प्रतिनिधिहरुले चयन गर्ने योजना रहेपनि निर्धारित समयमा भन्दा ८ घण्टापछि बन्द सत्र सुरु भएको थियो ।
बन्द सत्र अघि नेतृत्वका आकांक्षीहरु, शीर्षनेतृत्व र मधेश प्रदेशका पदाधिकारीसहितको बैठक विहानदेखि दिउँसो सम्म चलेको थियो । बन्द कोठामा भएको बैठकमा एमाले धनुषाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका थिए ।
आकांक्षीले दावीसहितको अडान नछोडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्यहरु रामचन्द्र मण्डल, संजिव झा सुरज, ज्वाला साहलगायतका नेताहरुले सहमतिका लागि प्रयास जारी राखेका थिए । सर्वसम्मत नेतृत्व चयनका लागि मोटामोटी सहमति भएसंगै बन्द सत्र सुरु गरिएको इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।
धनुषा जिल्लाका ईन्चार्ज समेत रहेका नेता रामचन्द्र मण्डलले नयाँ नेतृत्वका चयन बन्दसत्रबाटै छलफल गरिने पनि बताए ।
बन्द कोठामा शीर्षनेतृत्व वीच भएको कुराकानी भने गोप्य नै राखिएको छ ।
एमाले नेताहरुका अनुसार राजकिशोर यादवलाई अध्यक्षमा निरन्तरता दिन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशन रहेकाले उनलाई अध्यक्ष बनाउनेगरी जिल्ला कमिटीलाई पूर्णता दिने तयारी भएको जनाइएको छ । राजकिशोरलाई सर्वसम्मत अध्यक्ष बनाएपछि अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या भएको स्रोतको भनाइ छ । अन्य आाकंक्षीले उधारोमा पद नलिने अडान राखेको एक आकांक्षीले बताए ।
अध्यक्षका आकांक्षीमध्ये तेजनारायण यादव पूर्वमाओवादी पक्षका हुन् भने अक्षयलाल महतो रघुवीर महासेठ निकट र लक्ष्मी यादव भने सञ्जीव पक्षधर हुन् । केन्द्रमा सचिव महासेठसमेत ओली पक्षधर रहेपनि जिल्ला अध्यक्ष राजकिशोर यादव उनीसँग सन्तुष्ट छैनन् । महासेठको कार्यशैलीको विरोध गर्दै उनले केही समय पहिला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाण्डौ आएर गुनासो गरेका थिए ।
यता पूर्वमाओवादी परित्याग गरेर एमाले बनेका तेजनारायण यादवले पनि अध्यक्ष दावी गर्न छोडेका छैनन् । हालका अध्यक्ष राजकिशोर यादव स्वेच्छाचारी ढंगले चलेको भन्दै वर्तमान सचिव समेत रहेका तेजनारायणले विरोध गदै आएका छन् ।
स्रोतका अनुसार अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्षमा राजकिशोर यादव, उपाध्यक्षमा अक्षयलाल महतो, सचिवमा तेजनारायण यादवलाई सर्वसम्मत चयन गर्ने आन्तरिक तयारी छ ।
तर अध्यक्ष पदका अर्का आकांक्षी लक्ष्मी यादवको व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् ।
तर सचिव रघुवीर महासेठ पक्षले भने कुनैपनि हालतमा राजकिशोर यादवलाई पुनः अध्यक्ष नमान्ने अडान कायमै राखेका छन् । जसले गर्दा बन्द सत्र हो हल्लाकै वीच स्थगित गर्नु परेको छ ।
यस्तो छ एमाले अध्यक्ष मण्डललगायतका समितिहरु
सातौँ जिल्ला अधिवेशनका लागि बन्दसत्रको अध्यक्ष मण्डल सात सदस्यीय गठन गरिएको छ । स्थायी समिति सदस्य लिलानाथ श्रेष्ठको अध्यक्षतामा सदस्यहरुमा पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, रामचन्द्र मण्डल, मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, ज्वाला साह, रेवतीलगायतका छन् । भने टिपोट समितिको अध्यक्षमा नदाफ फर्मुद, सदस्यहरुमा इन्दिरा सिंह, लक्ष्मी नारायण यादव, हलखोरी कापरलाई चयन गरिएको छ ।
त्यस्तै निर्वाचन समिति पनि गठन गरिएको छ । निर्वाचन समितिको अध्यक्षमा अधिवक्ता चन्द्रप्रकाश मैनाली, अधिवक्ता राजकुमार महासेठ, अधिवक्ता किशोरी साह, अधिवक्ता दिपेन्द्र साह, अधिवक्ता दिपक केसी र अधिवक्ता रामविलास यादव रहेको धनुषा एमालेले जनाएको छ ।