जनकपुर, चैत २
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले शासन सत्तामा मधेशीको सहभागिता नभएसम्म मधेशको विकास नहुने बताए ।
जनकपुरधाममा होली पर्वको अवसरमा डेली एक्सप्रेसद्वारा आयोजित कार्यक्रममा उनले मधेशलाई अझैसम्म पनि काठमाण्डौँले स्वीकार्न नसकेको बताएका हुन् ।
उनले मधेशले देशमा जति योगदान गर्दा पनि शासन व्यवस्थामा खसहरुकै वर्चस्व रहेकाले मधेशको विकास हुन नसकेको दावी गरे ।
पूर्वमन्त्री समेत रहेका नेता महतोले भने, ‘काठमाडौँबाट साशन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन् ।’
उनले यहाँका खसवादीवादी साशक ढाका टोपीमा राष्ट्रवाद त देख्छAन् तर धोती कुर्तामा राष्ट्रवादी देख्दैनन्, उनले अघि थप्दै भने, ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनै पर्छ, मधेशीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन् ।’
त्यस्तै मधेश प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुको भूमिका प्रदेशसभामा रहेकाले कानून निर्माणका हामीले विशेष ध्यान दिएको दावी गरे । यो ४ वर्षको अवधिमा थुप्रै कानूनहरु निर्माण गरिएको दावी गर्दै प्रदेशसभा सदस्य परमेश्वर साहले आउने दिनमा कानून कार्यान्वयनपछि परिवर्तन देखिने दावी गरे ।
मधेश सरकारले संचालनमा ल्याएको महत्वाकांक्षी योजना बेटी पढाउ बेटी बचाउ अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले मारेको छापाको प्रसंगलाई कोट्याउँदै उनले मुख्यमन्त्री लालबाबु राउतलाई पटक पटक आफूहरुले मार्ग प्रशस्त गरेर अगाडी अख्तियारलाई छानविन गर्न सहयोग पुर्याउनका लागि भन्दै आएको जानकारी दिए । यद्यपि अख्यितयारको भूमिकामाथी प्रश्न उठाउँदै उनले अख्तियारले छापा मारेको महिनौँ बिति सकेको छ किन अहिलेसम्म छानविनको प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन प्रश्न गरे ।
बोल्नै सकेनन् लालकिशोर साह !
जनप्रतिनिधिहरुले आफ्नो कुरा राखिराख्दा जनताको तर्फबाट जनप्रतिनिधिहरुले चित्तबुझ्दो जवाफ आउन नसकेको गुनासो गरेका थिए ।
जनकपुरधाम उपमहानगपालिकाका नगरप्रमुख लालकिशोर साहले एडिबी परियोजना अन्तर्गत निर्माण गरिएको सडकलाई समेत उपमहानगरले गरेको भन्दै आफ्नो ४ वर्षको उपलब्धिको रुपमा गनाएका थिए । नगरप्रमुख साहले जनकपुरलाई धाम बनाएको, शहीदद्वार निर्माण गराएको, दर्जनौँ कानून निर्माण गरेको दवाी गरेका थिए ।
नगरप्रमुखले आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त गनाई रहँदा दर्शक दिर्घामा रहेका उपमहानगरकै वडाध्यक्षहरु जानकीराम साह, दीपेन्द्र साह, शत्रुध्न साह लगायतका वडाध्यक्षहरुले भने नगरप्रमुखले जनतालाई भ्रममा राखिरहेको भन्दै हुटिंग गरिरहेका थिए ।
वडाध्यक्ष जानकीरामले नगरप्रमुख लालकिशोरले प्रयोग गर्दै आएको डेढ करोडको गाडी, अतिथि गृहमा किन फोहोर फालिदै छ, डम्पिंग साइटको विषयमा किन निर्णय गर्न नसकेको लगायतको प्रश्न गर्दा नगरप्रमुख साहले भने स्पष्ट रुपमा जवाफ दिन सकेनन् ।