जनकपुर, चैत्र २
जनकपुरधामको जानकी मन्दिरमा डेली एक्सप्रेस दैनिकले आयोजना गरेको होली पर्वको कार्यक्रममा जनकपुरधामका नगरप्रमुख लालकिशोरलाई जनप्रतिनिधिहरुले नै हम्मेहम्मे पारेका छन् । नगरप्रमुख लालकिशोर साहको हुटिंग पनि भएको थियो ।
मंगलबार रातिसम्म चलेको होली पर्वको कार्यक्रममा नगरप्रमुख लालकिशोर साहले आफ्नो कार्यकालमा हालसम्म गरेको विकास निर्माणलगायतका कामको मूल्यांकन र सो काममा भएको भ्रष्टाचार बारे जानकी माताको साक्षी राखेर बोल्न भनेपछि उनी बेजवाफ भए ।
जनप्रतिनिधिहरुले आफ्नो कुरा राखिराख्दा जनताको तर्फबाट जनप्रतिनिधिहरुले चित्तबुझ्दो जवाफ आउन नसकेको गुनासो गरेपछि नगरप्रमुख लालकिशोर साहलाई निकै नराम्रो अनुभव गर्नु परेको छ ।
जनकपुरधाम उपमहानगपालिकाका नगरप्रमुख लालकिशोर साहले एकीकृत शहरी विकास परियोजना अन्तर्गत विकास निर्माण गरिएको सडकलाई समेत जनकपुरधाम उपमहानगरले गरेको भन्दै आफ्नो ४ वर्षे कार्यकालको उपलब्धिको रुपमा गनाउँदै गौरव महसुस भएको बताए ।
नगरप्रमुख लालकिशोर साहले जनकपुरलाई जनकपुरधाम बनाएको, शहीदद्वार निर्माण गरेको, दर्जनौँ विधेयकहरु निर्माण गरेको दवाी गरेका थिए ।
नगरप्रमुख लालशिोर साहले आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त गनाई रहँदा दर्शक दिर्घा वीच रहेका जनकपुरधाम उपमहानगरकै वडाअध्यक्षहरु वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साह, वडा नम्बर ३ का वडाअध्यक्ष दीपेन्द्र साह, वडा नम्बर १ का शत्रुध्न साह लगायतकाहरुले भने नगरप्रमुखले जनतालाई भ्रममा राखिरहेको भन्दै हुटिंग समेत गरेको थियो ।
वडाअध्यक्ष जानकीराम साहले नगरप्रमुख लालकिशोर साहले प्रयोग गर्दै आएको डेढ करोडको गाडी, अतिथि गृहमा किन फोहोर फालिदै छ, डम्पिंग साइटको विषयमा किन निर्णय गर्न नसकेको लगायतको प्रश्न गर्दा नगरप्रमुख साहले भने स्पष्ट रुपमा जवाफ दिन सकेनन् ।