जनकपुर, चैत्र २

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार मच्चाउने भनि दिएको अभिव्यक्तिको व्यापक विरोध भयो । मन्त्री यादवले दिएको उत्तेजनापूर्ण अभिव्यक्तिको विरुद्धमा स्थानीय प्रहरी प्रशासनमा समेत उजुरी पर्यो । तर उनी सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालकी प्रभावशाली नेतृ रहेकै कारणले गर्दा कुनै किसिमको कारवाही प्रहरी प्रशासनले समेत गर्न सकेनन् ।

उनिमाथि उत्तेजना फैलाउने कार्य गरेको भन्दै दिइएको मुद्दा राजनितिक प्रभावकै कारण प्रहरी प्रशासनले कार्यवाहीका लागि प्रक्रिया अघि बढाउन सकेन ।

रौतहटको गौरमा जसपा नेपालले आयोजना गरेको बलिदानी दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री यादवले सिके राउतका कार्यकर्ताहरुलाई लक्षित गर्दै आफुहरुको कार्यक्रममा अवरोध सृजना गर्ने क्रम नरोकिएमा फेरि गौर नरसंहार काण्ड दोहोरिनेसहितका अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिको चर्को आलोचनासंगै उनको राजिनामा पनि मागसहित आन्दोलन नै भएको थियो । मन्त्री यादवको राजिनामा सहितको माग गर्दै विभिन्न ठाउमा विरोध प्रदर्शन पनि भयो ।

मन्त्री यादवमाथि जिल्ला हुलाक कार्यालय मार्फत नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रंजित कर्णले उजुरी दर्ता गरेका थिए । तर अहिले सम्म सो मुद्दाको प्रक्रिया अगाडि बढेको छैन । नेता कर्णले आफुहरु राजनिति गर्ने व्यक्ति भएका कारणले निवेदन दिएर मुद्दा उठाई दिएको बताए । उनले भने, ‘पार्टीले नै यस्तो अभिव्यक्ति दिनेलाई बर्खास्त गर्नुपर्ने हो नभएर प्रधानमन्त्रीले नै हटाउनुपर्ने हो तर उहाको मुद्दा दुवै भएको छैन यसले उत्तेजना फैलाउनेहरुको मनोवल बढने छ ।’ कर्णले आफुले मुद्दालाई उठाई दिएकाले स्थानीय प्रहरी प्रशासनको काम कारवाही गर्ने रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले हुलाकी मार्फत आउने निवेदनहरुलाई सनाखतको लागि हुलाक मार्फत नै पत्र पठाउने गरिएको बताउँदै मुद्दाको अन्य प्रक्रियाहरु कहा पुगेको हो बुुझ्नुपर्ने बताए ।

मन्त्री यादवमाथि राजिनामा दिन चर्को दवाव परेपछि राष्ट्रिय मानव अधिकार आयोगले माघ २० मा मन्त्रीयादवलाई बोलाएर स्ष्टीकरण समेत लिएको थियो ।

मन्त्री यादवले श्रद्धाञ्जलिसभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको स्पष्टीकरण दिएकी थिइन् ।