पुनः मतगणना सुचारु गर्न विभिन्न इन्जिनियर गठबन्धनको माग

जनकपुर, चैत्र २

नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित रहेको मतगणना तत्कालै सुचारु गर्न विभिन्न संगठनहरुले माग गरेका छन् ।
नेपाली कांग्रेस निकटका सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्याम किशोर यादवले तत्काल मतगणना गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसंग माग गरेका हुन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष पदका प्रत्यासी उम्मेवार श्यामकिशोर यादवले मतगणनाको कामलाई नरोक्न निर्वाचन समितिसंग माग गर्दे मतगणना रोकेर समग्र निर्वाचन नै प्रभावित भएको प्रति चिन्ता समेत व्यक्त गरे । निर्वाचन समितिले कुनै एक व्यक्तिको हो–हल्लाकै कारण मतगणना नै रोक्नु गलत रहेको स्पष्ट पारे ।

निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया रहेकाले हार वा जितकै कारणले विभिन्न शंका उपशंकामा रहेर डराएर निर्वाचन प्रक्रियाको मतगणनालाई प्रभावित पार्न नहुने समेत उनले बताए ।

तर, मतगणनामा जालझेल गरिएको आरोप लगाउँदै समग्र प्रक्रिया नै बिथोल्नु गलत रहेको उनको भनाई छ ।

सिडेनका नेता प्रेमचन्द्र रायले निर्वाचन प्रक्रियामा कुनै प्रकारको जालझेल भएको आशंका कसैलाई भए चुनावी परिणामपश्चात सम्बन्धित निकायसमक्ष जान सक्ने अवस्था रहने हुनाले मतगणनाको माग गरे । उनले वीचमै मतगणना रोकेर मतगणना स्थलमा तालाबन्दी गर्नु असहनिय रहेको जिकिर समेत गरे ।

पत्रकार सम्मेलनमा बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनमा रहेका लोसपा निकटका केन्द्रीय सदस्य पदका प्रत्याशी उम्मेदवार भवेश मिश्रले मतगणनामा कसैको विरोध भएमा कानूनी उपचार खोज्न आग्रह गरेका छन् । उनले जतिबेला जसलाई जे मन लाग्यो, त्यही गर्ने हुनाले निर्वाचनको परिणामा नै प्रभावित हुन पुगेको बताउँदै उनले शंका लागेमा सम्बन्धित ठाउँमा उजुरी दिन आग्रह गरे ।

एकीकृत प्रगतिशिल इन्जिनियर समूहबाट केन्द्रीय सदस्य पदका प्रत्याशी उम्मेदवार संजिव नारायण यादवले चुनावी प्रक्रियाको पहिलो दिनदेखि नै निर्वाचन समितिले व्यवस्थित गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले सिडेनको तर्फबाट अध्यक्ष पदका प्रत्यासी श्याम किशोर यादव मतगणनाको क्रममा सुरुमा पछि पर्दा समेत कुनै विवाद नरहेको, तर पछि उनी मतगणनामा अग्रस्थानमा पुगेपछि अन्य प्रत्याशी उम्मेदवारले गैरराजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाए । उनले नन्पलिटिकल समूहका उम्मेदवारहरुले बखेडा गरेर मतगणना नै प्रभावित पारेको प्रति आपत्ति जनाए ।

नन् पोलिटिकल समूहबाट अध्यक्ष पदका प्रत्यासी गौरी पण्डितसहित उनको प्यानलले मतपत्र छानबिनको माग गर्दै मतगणना स्थलमै तालाबन्दी गरेपछि स्थगित भएको छ ।