
वीरगञ्ज, चैत्र २
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी छन् ।
बुधबार वीरगञ्जमा मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले आयोजना गरेको सहिद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरिन् ।
नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न मन्त्री भुसालले आग्रह गरिन् ।
उनले भनिन्, ‘भान्सा होस वा बाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ ।’
सहिद परिवारलाई तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको भन्दै मन्त्री भुसालले प्रशंसा गरिन् । सो कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र एक लाखको चेक हस्तान्तरण गरिन् ।
सहिद परिवारलाई प्रतिमहिना तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उनले जानकारी दिइन् ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताएका छन् ।