बिहीबार नोमिनेसनसंगै पदाधिकारी घोषणा
जनकपुर, चैत्र २
नेकपा एमालेको धनुषाको सातौँ जिल्ला अधिवेशनको बन्दसत्र वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समुहले बहिष्कार गरेपछि सर्वसम्मतिरुपमै टुंगिने भएको छ ।
केन्द्रिय अध्यक्ष केपी शर्मा ओली समुहका राजकिशोर यादवले बहिष्कार गरेपछि अध्यक्ष मण्डलमाथि दवावस्वरुप प्रतिनिधिको विरोध खेप्दै पुनः दोहोर्याउने गरि उनैलाई ल्याउने भएको हो ।
वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवले बुधबार भएको बन्दसत्रको क्रममा पदाधिकारी बाहेक जिल्ला कमिटी सदस्यहरुको नामावली घोषणासहित पारित गरिएपछि सो समुहले अधिवेशन नै बहिष्कार गरेको भन्दै नारावाजी प्रदर्शन गरेका थिए । सातौँ जिल्ला अधिवेशन बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमालेका स्थायी समिति सदस्य लिलानाथ श्रेष्ठले सर्वसम्मतिका लागि वातावरण बनाएपछि केन्द्रिय अध्यक्ष ओलीको निर्देशनानुसार नै राजकिशोर यादवलाई पुनः अध्यक्ष बनाउने गरि बन्दसत्रमा प्रतिनिधिहरु वीच पदाधिकारीको नाम समेत घोषणा गरेका छन् ।
आज दिनभरि चलेको बन्दसत्रमा केही प्रतिनिधिहरुले अध्यक्षमा पुनः राजकिशोर यादवलाई लाद्ने चलखेल गरेको भन्दै आपत्ति जनाएपछि बन्दसत्र नै प्रभावित भएको थियो । तर अध्यक्ष मण्डलले बन्दसत्रमा नेतृत्व चयन बारे सबैलाई जानकारी गराएपनि निर्वाचनकै माध्यमबाट चयन गरिने भएको अध्यक्ष मण्डलले स्पष्ट पारेको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष श्रेष्ठले भने अध्यक्षमा राजकिशोर यादव, उपाध्यक्षमा भोला यादव, र सचिवमा पूर्व माओवादीको तर्फबाट तेजनारायण यादवलाई नै दोहोर्याउने गरि सर्वसम्मतिरुपमा घोषणा गरेको थियो ।
अध्यक्ष मण्डलका सदस्य समेत रहेका धनुषा जिल्ला ईन्चार्ज रामचन्द्र मण्डलले बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि छलफल भएको र बिहीबार विहान ८ बजे नेकपा एमाले धनुषाको कार्यालयमै नोमिनेसनलगायतका कार्यहरु निर्वाचन समितिले गर्ने जनाए ।
अबको जिल्ला कार्य समिति १५१ सदस्यीय रहने छ ।
धनुषा जिल्लाको नेतृत्व चयनका लागि पार्टी अध्यक्ष ओलीको हस्तक्षेपका कारण उपस्थित शीर्षनेतृत्वले दवावमा आएर राजकिशोर यादवलाई नै अध्यक्ष र सचिवमा पूर्व माओवादीका तर्फबाट पनि वर्तमान सचिव रहेका तेजनारायण यादवलाई चयन गर्दै निर्वाचित गरिने आन्तरिक योजना रहेको एमालेका एक प्रतिनिधिको दावी छ ।