जनकपुर, चैत्र ३

मुलुककै सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्राको मिथिला मध्यमा परिक्रमाका तिर्थयात्रीहरु जनकपुरधाम आइपुगेका छन् ।

तीर्थयात्रीहरूको टोली भारतको विहार राज्यको करुणाबाट सीता–रामको डोला तथा झाँकीसहित तिर्थालुहरु बिशौल हुँदै आज जनकपुरधाम आइपुगेका हुन् । १४औँ विश्राम स्थल बिशौलमा रात्रि विश्राम गरेपछि १५औँ विश्राम स्थलको रुपमा रहेको जनकपुरधाम आइपुगेका छन् ।

भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउने र ४ गते बिहान पञ्चकोशी अन्तःगृह परिक्रमा समापनसंगै तिर्थयात्रीहरू आ–आफ्नो घर फर्केपछि मिथिलाञ्चलसहित तराई मधेशको जिल्लाहरूमा चैत्र ५ गते शनिवार होली खेल्नेछन् ।

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री सीतासँग अयोध्याका राजा दशरथका सुपुत्र रामसँग विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमामा लाखौँ तिर्थयात्रीहरू खाली खुट्टासहित सहभागि भई गनतव्य तर्फ प्रस्थान गर्ने गरेका छन् । नेपाल–भारतको साझा सांस्कृतिक महत्त्वको मध्यमा मिथिला परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी पैदल मार्ग हुँदै परिक्रमा गर्दछन् ।

No description available.

परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेका छन् ।

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको मध्यमा मिथिला परिक्रमा पूर्णिमाका दिन अन्तः गृह परिक्रमा सकेपछि तिर्थालुहरुले १५ दिनसम्म गरेका तिर्थयात्रा सम्पन्न भएको मानिन्छ ।