जनकपुर, चैत ५
मिथिला मध्यमा परिक्रमा अन्तर्गतको जनकपुरधामको अन्तःगृह परिक्रमा सम्पन्नको अर्को दिन भव्यतासाथ होली मनाइँदै छ ।
मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा शनिबार भव्यतासाथ होली मनाइदैँछ ।
होरैया लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जायमान समेत बनेको छ ।
जनकपुरधामको राम चोक, महावीर चोक र जानकी चोकमा यूवाहरुले विभिन्न किसिमले मनोञ्जनात्मक शैलीमा होली मनाउँदैछन् । यी चोकहरुमा यूवाहरुले मटका फोर्ने देखि हिलोमा एकअर्कालाई माटो दलेर कुस्ती खेलेर समेत मनाउँदै छन् ।
फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाइ पूजाआजा गरिन्छ । विभिन्न परिकारका मालपुवा, दालको पुरीलगायतका भोजनहरु बनाई खुसियाली साथ खाने–खुवाउने र एक अर्कालाई रंङ अबिर लगाइने गरिन्छ ।
मधेश प्रदेशको अधिकांश ठाउँमा शुक्रबार नै होली पर्व मनाइएपनि जनकपुरधामसहितको नेपाल–भारतमा पर्ने मिथिला क्षेत्रमा भने आज होली मनाइन्छ ।
हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइएको थियो ।