जनकपुर, चैत्र ५

होलीको अवसरमा अप्रिय घटना हुन नदिनका लागि प्रहरीले व्यापकरुपमा कडाई गरेको थियो । सो क्रममा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गरेको आरोपमा चार जनासहित दर्जनौँ सवारीसाधनलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषामा बिहानैबाट धनुषा प्रहरीले मादकपदार्थ सेवन, सडकमा उच्छृंखल गतिविधि गर्ने र लापरबाहीपूर्वक सवारी चलाउनेमाथि विशेष निगरानी राखिएकाले दर्जनौँ सवारी सहित चार जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

होलीमा सवारी दुर्घटना हुन सक्ने आशंकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा र जनपद प्रहरीले संयूक्तरुपमा मपासेदेखि तिव्रगतिमा सवारी गुडाउनेहरुमाथि प्रहरीले कडा निगरानीमा राखेको थियो ।

मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ भने ६६ वटा मोटरसाईकलसहित सवारी साधन नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक समेत रहेका प्रवक्ता बस्नेतले बताए ।

६६ वटा सवारी साधनमध्ये मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएका २७ र तीनजना सवार भई मोटरसाइकल चलाएको आरोपमा ४२ वटा सवारी साधन नियन्त्राणमा रहेको उनले बताए ।

धनुषा ट्राफिक कार्यालयका प्रमुख नवराज न्यौपानेले जनकपुरधाम उपमहानगरपालिकाभित्र २ सय ३३ जनालाई ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही स्वरुप जरिवाना लिई छाडेको बताए ।