एजेन्सी, चैत्र ६
रुसको सेनाले गरेको हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारबाट पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियार भण्डारलाई ध्वस्त पारेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ । तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।
यदि पुष्टि भयो भने किन्जल नामको सो क्षेप्यास्त्र युद्धमा रुसको पहिलो प्रयोग हुनेछ । यसलाई सम्भवतः मिग–३१ युद्धक विमानबाट प्रहार गरिएको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले हाइपरसोनिक क्षेप्यास्त्रमा रूसको लगानीलाई बारम्बार जोड दिने गरेका छन् । यसले आवाजभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्न सक्छ । रूसी अधिकारीहरूले जनाए अनुसार किन्जलले २ हजार किलोमिटर टाढाको लक्ष्यमा प्रहार गर्न सक्छ र ६ हजार किमी घन्टाभन्दा छिटो उड्न सक्छ ।
राष्ट्रपति पुटिनले गत डिसेम्बरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र निर्माणमा विश्वमा सबैभन्दा अघि रहेको दाबी गर्दै आएका थिए ।
यस क्षेप्यास्त्रलाई ट्रयाक गर्न गाह्रो हुने र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्ने जनाइएको छ ।
रुसले रोमानियासँगको सिमानाबाट १०० किलोमिटर दक्षिण–पश्चिम युक्रेनको गाउँ डेलियाटिनमा रहेको हतियार डिपोमा क्षेप्यास्त्र प्रहार भएको दाबी गर्दै भिडियो पोस्ट समेत गरेको छ ।