जनकपुर, चैत्र ६
रूस–युक्रेन युद्धले हाम्रो भान्सामा प्रयोग हुने खाद्यान्न सामग्री, एलपीजी ग्यास देखि सुनसम्मको भाउ ह्वात्तै बढेर गएको छ । दिनानुदित खाद्यान्न सामग्रीहरुको मूल्य मनपर्दीरुपमा बढ्दै गएको छ ।
रूसले युक्रेनमाथि सैन्य हमला गरेको तीन साता भन्दा बढी हुँदै छ । दुई देशबीच चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय बजार महँगिने क्रम जारी नै छ ।
पेट्रोलियम पदार्थ, सुन लगायत अन्य वस्तुसँगै खाद्यान्न सामग्रीलगायतका बजारमा पनि युद्धको प्रभाव परेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य अनियन्त्रितरुपमा बढ्ने क्रम जारी छ ।
पेट्रोलियम पदार्थसँगै रूस र युक्रेन दुवै कृषि उत्पादनका ठूला निर्यातकर्ता हुन् । यिनले मध्यपूर्वसहित विभिन्न मुलुकमा खाद्यान्न पठाउँदै आएको छ । विश्वको कुल गहुँ निर्यातमा रूस र युक्रेनले मात्रै झन्डै ३० प्रतिशत र मकै निर्यातमा १९ प्रतिशत स्थान ओगटेको छ ।
यूद्धका कारण अन्तर्राष्ट्रिय बजारमा परेको असरबाट नेपाल पनि अछुतो रहेन । दाल, चामल, तेलदेखि अन्डासम्मको भाउ अहिले ह्वात्तै बढ्दै गएको छ ।
नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांक अनुसार फागुन ६ गते जिरा मसिनो चामल प्रतिबोरा एक हजार छ सय २५ रूपैयाँ पर्थ्यो । तर फागुन २९ गते सो भाउ बढेर एक हजार आठ सय ७५ रूपैयाँ सम्म पुगेको छ ।
त्यस्तै मासको दाल प्रतिकिलो एक सय ६० रहेकामा बढेर एक सय ८० रूपैयाँसम्म पुगेको छ । मुसुरो दालमा पनि ३० देखि ४० रूपैयाँ बढेर एक सय ७० रूपैयाँसम्म पुगेको छ ।
कोरोना महामारीदेखि नै आकासिएको खाने तेलको मूल्य युद्धले झन् बढ्ने भएको छ । सनफ्लावर तेल लिटरको दुई सय ४० बाट बढेर तीन सय ३० रुपैयाँसम्म पुगेको छ ।
भटमासको तेल दुई सय २० बाट दुई सय ७० रुपैयाँ र भुटेको तोरी तेल तीन सयबाट चार सय रूपैयाँ पुगेको छ । काँच्चा तोरीको तेल दुई सय ४० रुपैयाँ भएकामा ब्रान्ड हेरेर दुई सय ७५ रुपैयाँ देखि तीन सय ८५ रुपैयाँ सम्म पुगेको छ ।
अहिले अन्डाको मूल्यमा वृद्धि भएको छ । हाल बजारमा ठूलो आकारको अन्डा प्रतिक्रेट चार सय १० रूपैयाँ र मध्यम आकारको अन्डा तीन सय ६५ देखि ७० रूपैयाँ रहेको छ ।
खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गर्दा सरकारले बजार अनुगमन गर्नुपर्ने संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् ।
उनले भने, ’कच्चा तेलको मूल्यकै कारण बजार महँगिएको हो वा कृत्रिम अभाव सिर्जना गराएर बढाइएको हो भन्नेबारे अनुगमन हुनुपर्छ,’ उनले अघि थप्दँै भने, ’आज एउटा मूल्य हुन्छ, दुई दिनपछि अर्को मूल्य राखेर पठाइन्छ । कच्चा तेलको मूल्य बढ्दा उपभोग्य वस्तुको मूल्य कतिसम्म बढ्नु पर्ने हो भन्ने भन्सारबाटै अनुगमन गर्नुपर्छ ।’
सरकारले मूल्य वृद्धि बारे अनुगमन नगरेमा अझैपनि मनमानी ढंगले अनियन्त्रितरुपमा चर्को मूल्य वृद्धि हुन सक्ने उपभोक्ताहरु बताउँछन् ।
प्रशोधित खाने तेल उत्पादनका लागि आयात हुने सूर्यमुखी र भटमासको कच्चा तेल युक्रेन र रूसबाट आयात हुने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जनाए । युद्धले खाद्यान्न आयातमा भने कुनै असर नगर्ने उनको दावी छ ।
रूस र युक्रेनले सूर्यमुखी तेल, मकै, गहुँ लगायत खाद्यान्न विश्व बजारमा पु¥याउने भएकाले महँगीको मार दीर्घकालीन रहने अर्का एक व्यवसायी बताउँछन् ।
आयात निरूत्साहित गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्थाले पनि महँगी बढ्ने उनको भनाइ छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा एक अर्ब ३२ करोड ६३ लाख किलो खाद्यान्न आयात भएको छ । सो मध्ये सबभन्दा बढी छिमेकी मुलुक भारतबाट आउँछ । त्यसपछि ब्राजिल, अमेरिका, अर्जेन्टिना, बंगलादेश, चीनलगायत मुलुकबाट आयात हुन्छ ।
सो अवधिमा चार अर्ब ६४ करोड ५२ लाख मूल्य बराबरको १४ करोड २१ लाख किलो गहुँ आयात भएको छ भने १३ अर्ब चार करोड ४३ लाख मूल्य बराबरको ३७ करोड १९ लाख किलो मकै आयात भएको छ ।
विभागको तथ्यांकले मकै भारत, ब्राजिल, टर्की, साउथ अफ्रिका, इन्डोनेसिया, क्यानडा, अमेरिका, चीन र अर्जेन्टिनाबाट आयात भएको देखाउँछ। त्यस्तै गहुँ भारत र टर्कीबाट आयात हुने गरेको जनाएको छ ।
यसबाहेक मासुको भाउ पनि बढेको छ । आयात हुने खाद्यान्न पशु दानामा पनि प्रयोग हुने भएकाले मासुको मूल्य बढेको छ । खसीको मासू एक हजार दुई सय रुपैयासम्म मूल्य भएको छ । जबकी यस अघि एक हजार रुपैयाँ प्रति किलोग्राम खसीको मासु पाउँथ्यो । त्यस्तै कुखुराको मासु प्रति किलोग्राम चार सय ८० रुपैयाँ विक्रि वितरण भएको छ । जबकी बोइलर कुखुराको मासु प्रति किलोग्राम तीन सय २० रुपैयाँ थियो ।
रूस–युक्रेन युद्धले हाम्रो खाद्यान्न प्रणालीमा खासै असर नगर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए । अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण उपभोग्य सामाग्रीको मूल्य भने बढ्ने क्रम जारी नै छ ।
यस प्रति सरोकारवालले वास्ता नगर्दा जथाभावीरुपमा मूल्य वृद्धि मार उपभोक्ताले खेप्नु परेको छ ।