काठमाण्डौँ, चैत्र ६

गायक प्रकाश सपुतले ल्याएको ‘पीर’ यूट्युबबाट केही दृश्य संशोधन गरि पुनः नयाँ अपलोड गरेका छन् ।

नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको जनाएको छ ।

गायक प्रकाश सपुतले ’पीर’ गीतमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई समेटेर देखाइएको छ ।

सो गीतमा रहेका केही दृश्यप्रति माओवादी नेता तथा कार्यकर्ताले व्यापकरुपमा दवाव दिएपछि प्रकाशले केही दृश्य हटाएर पुनः अपलोड गरेको जनाएको छ ।

युट्युबमा सो भिडियो १ करोड पटक हेरिएको थियो । युट्युबमा यौनकर्मीको दृश्य काटेर नयाँ अपलोड गरेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ‘कहिलेकाहीँ त लाग्छ – भयो अब ! पुग्यो ।

समाजिक सञ्जालमा उनले लेख्दै भनेका छन्– खैर, पीरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ ।’

सपुतले आफ्नो युट्युबमा ’पीर’ गीत रहँदा नियोजित रूपमा माओवादी सशस्त्र द्वन्द्वलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भैरहनेजस्तो भएकाले गीत हटाएको प्रस्ट्याएका छन् ।

उनले कुनै दबाब वा प्रभावमा भन्दा पनि यस बीचमा आएका प्रतिक्रिया, अग्रज स्रष्टाका सुझाव, समीक्षकहरूका समीक्षाले तथा सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गरेर भिडियो हटाएको दावी गरेका छन् ।

उनले यसलाई थप राजनीतिकरण तथा अतिरञ्जित नगर्न समेत आग्रह गरेका छन् ।