
काठमाण्डौँ, चैत्र ६
स्थानीय तहका निर्वाचन नजिकिएसंगै म्यादी प्रहरीको भर्नाका लागि सरकारले आह्वान गरेको छ ।
आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत म्यादी प्रहरीमा दरखास्त दिन पाइने भएको छ ।
प्रत्येक जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदनको आह्वान गरिएको छ । यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेबाट सुरु हुँदैछ । चैत २२ गतेमा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी रहेको जनाइएको छ ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिने मापदण्ड छ ।
म्यादी प्रहरीका लागि ४० दिन कार्याविधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ, पोशाकबापत ६ हजार रुपैयाँ, रासनबापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।