एजेन्सी, चैत्र ६

श्रीलंकामा कागजको अभाव हुँदा विद्यार्थीहरु परीक्षाबाट वञ्चित हुनु परेको छ ।

कागज नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएको छ ।

कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि कागजलगायतको अभावको उत्पन्न भएको र यस्ता समस्याको सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।

शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामनाबाट गुज्रिनु परिरहेको छ ।

प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन् भन्दै शिक्षा विभागले जनाएको छ ।

झन्डै ६० लाख जनसंख्या रहेको श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले यस्तो भनेको छ ।

कक्षा ९, कक्षा १० र कक्षा ११ को परीक्षाहरु निरन्तर मूल्यांकन प्रक्रियाको अंश हो । विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्नका लागि यस्तो प्रक्रिया अपनाइएको हो ।

आर्थिक संकटबीच अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको समेत देखाएको छ ।