
जनकपुर, चैत ६
आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत म्यादी प्रहरीमा दरखास्त दिनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरे लगत्तै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिने बेरोजगारहरुको भिड नै लागेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गरेको म्यादी प्रहरीको भर्नाका लागि पहिले दिन नै यूवाहरुको व्यापक भिड देखिएको हो ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको छ । यसका लागि धनुषामा ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको जनाइएको छ ।
धनुषा प्रहरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको जानकारी दिए । म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै उनले आवेदनको आधारमा भर्ना गरिने स्पष्ट पारे ।
म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको छ ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेबाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ ।
छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी रहेको जनाइएको छ ।
भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिने मापदण्ड छ ।