पोखरा, चैत्र ६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई रुपान्तरण गर्न नसकेको बताएका छन् ।
आइतबार पोखरामा प्रदशे स्तरीय प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका हुन् ।
उनले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, उनले अघि थप्दैँ भने, ‘तर त्यो सकिएन ।’
उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं’, प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुदै पार्टी विभाजनको श्रृखंला शुरु भएको बताए ।
उनले भने, ‘त्यसपछि पार्टी विभाजन एउटा, दुईवटा, तीनवटा, कति हो कति रु अहिले फेरी एकता कति हो कति रु’, प्रचण्डले भने, ‘अहिले फेरि एकताका लागि १४,१५ समुह लाइनमा छन ।’
उनले प्रतिगमनविरोधि आन्दोलनमा आफु माइतीघर मण्डलामा पलेँटी कस्दा कतिले प्रचण्ड सकियो भन्ने गरेको स्मरण गर्दै आफुले पलेँटी कसेकै कारण विशाल आन्दोलन बन्न पुगेर प्रतिगमन परास्त हुन पुगेको दावी गरे ।
उनले भने, ‘एउटा टेलर गत पुसपछि देखियो, यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? क्रान्तिकारी बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो । फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माणतिर लागेका हौं ।’