जनकपुर, चैत्र ६
मधेश प्रदेशको विभिन्न जिल्लामा ट्राफिक नियम उल्लंघन गरेको भन्दै सयौँ सवारीसाधनलाई कारवाही गरेको जनाएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ५६ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।
होली पर्वमा मादक पदार्थ सेवन गरेको तथा बिना हेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।
मधेश प्रदेशको सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा ७ चालकलाई कारबाही गरिएको उनले बताए ।
चालकलाई कारबाही गरी दुई लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरिएको जैसवालले बताए ।
त्यस्तै होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना भएको र सो क्रममा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका उनले बताए ।