पटना (एजेन्सी), चैत्र ७

भारतको बिहारमा होली पर्वमा मदिरा सेवन गरेर ३२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको पूर्वी राज्य बिहारमा होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेका मध्ये बिहारका विभिन्न जिल्लामा कम्तीमा ३२ जनाको मृत्यू भएको हो ।

मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना रहेको जनाइएको छ ।

विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने समेत जनाइएको छ ।

अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन् ।

बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको कारण भने पुष्टि भईनसकेको बिहार प्रहरीले बताएको छ ।

घरायासी रूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयवासीको कथन छ ।

यसैबीच घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका समेत छन् ।

उनीहरूले प्रहरी र व्यवसायीबीचको मिलेमतोमा घटना भएको भन्दै स्थानीय प्रहरी विरुद्ध प्रदर्शन भएको छ ।

उनीहरूले बिहिबार राती विषादियुक्त मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछि बिरामी परेका थिए । सो क्रममा उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।