
खोजवाणी संवाददाता
रौतहट, चैत्र ७
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियार आयोगको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेक सहित रंगेहात पक्राउ गरेको थियो ।
आयोगले गरेको अनुसन्धानको क्रममा मेयर धर्मेन्द्र पटेल र उनका सहयोगी अशोकको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले दुवै जनामाथि ५ लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनी विरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले बताए ।
मेयर धर्मेन्द्र पटेल जनता समाजवादी पार्टी नेपालका नेता समेत हुन् ।