खोजवाणी संवाददाता

जनकपुर, चैत्र ७

मधेश प्रदेशको पहाडी क्षेत्रको रुपमा रहेको पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरिने भएको छ ।
मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न लागेको हो ।

चैत्र ११ गतेमा मधेश सरकारको मन्त्रिपरिषदको बैठक ठोरीमा बस्ने भएको छ । सोही बैठकबाट ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारीमा मधेश प्रदेश सरकार रहेको जनाइएको छ ।

मधेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लागेको ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले जानकारी दिए । यसले ठोरी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उनले बताए । उनले भने, ‘मधेश सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेपछि बजेट, कार्यक्रम ल्याउँछ, त्यसले यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्छ,’ उनले अघि थप्दैँ भने, ‘प्रचारप्रसार हुन्छ, पर्यटक आवागमन बढ्ने अपेक्षा पनि छ ।’

No description available.

अंग्रेजी नयाँ वर्षको दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागञ्ज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोज खान आउने गरेको स्थानीयवासीहरुको बताउँछन् । ठोरी गाउँ घुम्न आउने भारतीय पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । नेपालको चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषालगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

ठोरी तराई–मधेशको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थल रहेको छ ।