जनकपुर, चैत्र ७
स्थानीय तहको निर्वाचन अघि नै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ ।
सत्तारुढ नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको विभिन्न पटकको छलफलबाट लोसपा सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका हुन् ।
प्रधानमन्त्री देउवा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारीमा छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली छन् । लोसपा आउन चाहे ती मन्त्रालय दिएर सहभागी गराउन सकिने काँग्रेसका एक नेताले बताए ।
यता लोसपाका एक कार्यकारिणी सदस्यले स्थानीय तहको चुनावअघि सरकारमा सहभागी गराए मात्र सहभागी हुने स्पष्ट पारेका छन् ।
उनले स्थानीय तहको चुनावपछि अवस्था त्यति अनुकुल नरहने भएकाले आफूहरु त्यसमा सहभागी नहुने बताए । तर लोसपाले सरकारमा सहभागी हुनुअघि सर्त राख्दै मधेशको मुद्दा सम्बोधन गर्न भनेका छन् ।
सरकारमा सहभागी हुनुअघि मधेशका कुनै नकुनै मुद्दा सम्बोधन गर्नुपर्ने हुन्छ, नागरिकता विधेयकलाई अगाडि बढाउनुको साथै संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल गठन गर्दा पनि हुन्छ भनि लोसपाको सर्त रहेको काँग्रेसका ती नेताले बताए ।
यता लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकार आफूहरुको प्राथमिकतामा नरहेको बताए ।