जनकपुर, चैत ८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर भएमा माओवादीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् ।
मंगलबार जनकपुरधाममा मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न आएका अध्यक्ष प्रचण्डले जनकपुर एयरपोर्टमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा भाग चाहिने बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको बताए ।
उनले मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्दी देउवा सहमत समेत रहेको बताए ।
उनले भने, ‘मन्त्रीपरिषद्मा हेरफेरको कुरा चलेपनि अहिलेसम्म औपचारीक रुपमा भने टुंगिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि उत्तिकै छ’, उनले अघि थप्दैँ भने, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । प्रधानमन्त्री बनाउने देखि माधव नेपालजीसम्मलाई मिलाउने काम माओवादीले गर्दै आएको छ । प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएका थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ सहयोग गर्नु भनेका थिए । अब सहयोग गर्ने सबैकाम माओवादी केन्द्रकै रहेको छ ।’
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको दावी गर्दै उनले गठबन्धनका लागि काँग्रेसमाथि भरपर्ने समेत स्पष्ट पारे । माओवादी प्रतिको जनलहर व्यापक चलेकाले माओवादीलाई गठबन्धनले खासै अर्थ नराख्ने पनि उनले बताए ।