जनकपुर, चैत्र ८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारमा जानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासंग विभिन्न चरणको छलफल भएको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
मंगलबार जनकपुरधाममा मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले लोसपा सरकारमा सहभागी हुने चर्चाका चलिरहँदा उनले अहिले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसंग छलफल भईरहेको बताएका हुन् ।
अध्यक्ष ठाकुरले सरकारमा सहभागि हुने विषयमा छलफल चलिरहेको बताउँदै उनले अहिले नै सरकारमा सामेल हुने विषयमा भने पार्टी भित्र निर्णय नभएको बताए । वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा जाने कुनै छाँटकाँट नरहेको समेत उनले स्पष्ट पारे ।
उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा प्रधानमन्त्री देउवासंग छलफल चलिरहेको बताए ।
उनले नागरिकता सम्बन्धि मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाएमा सरकारमा जानसकिने बताए ।