
जनकपुर, चैत्र ९
स्थानीय तहको निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्रता दिएको छ । चैतको शुरूवातसँगै राजनीतिक दलले प्रशिक्षण सहितका विभिन्न कार्यक्रम चलाइरहेका छन् ।
सोही क्रममा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समायोजन प्रक्रियासँगै चुनावी गतिविधि सञ्चालन गरिरहेको छ । केही जिल्लामा बाँकी रहेको समायोजनको प्रक्रियालाई तीव्रता दिएको छ ।
अध्यक्ष उपेन्द्र यादव र कृषि तथा सहकारी मन्त्री महेन्द्र यादवको उपस्थितिमा धनुषामा समायोजन प्रक्रिया टुङ्गिएको छ । सचिव बाहेकका पदमा समायोजन गरिएको छ ।
जिल्ला अध्यक्ष, महिला उपाध्यक्ष, दुई सहसचिव पूर्व संघीय समाजवादी पार्टीले पाएको छ । त्यस्तै, उपाध्यक्ष दुई, कोषाध्यक्ष र एक सहसचिव पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) ले पाएको छ। सचिवमा दुवै पक्षले दाबी गरेका छन् ।
सचिवमा सहमति जुट्न नसकेपछि तत्काल रिक्त राखिएको जसपा कार्यकारिणी समितिका सदस्य गजाधर यादवले बताए । “सचिवको टुङ्गो १८५ सदस्यीय समितिको बैठकबाट लगाउन निर्देशन दिइएको छ,” उनले भने । समायोजन प्रक्रिया सम्पन्न भएसँगै स्थानीय तहको निर्वाचन तयारीमा जुट्न थालेको छ ।
जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनाव केन्द्रित गतिविधि थालेको छ । मंगलबार जनकपुरमा चार जिल्लाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्य चार जिल्लाको प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सञ्चालन हुने धनुषाका अध्यक्ष एवं प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा सहित नेता सहभागी थिए । प्रशिक्षण कार्यक्रमको मुख्य लक्ष्य नै संगठन सुदृढीकरण र सबलीकरण रहेको साहले बताए । प्रत्येक जिल्लाबाट २० जनालाई बोलाइएको थियो ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि मंगलबार प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दहाल, नारायणकाजी श्रेष्ठ सहितका नेता सहभागी थिए ।
यस्तै, नेकपा (एमाले) ले पनि स्थानीय चुनाव केन्द्रित भएर मधेशमा कार्यक्रम थालेको छ । केही दिनअगाडी मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जका मेयर विजय सरावगीलाई पार्टीमा स्वागत गरे । यससँगै एमाले नेताहरू अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेका छन् ।
मधेश प्रदेशमा स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि चुनाव केन्द्रित कार्यक्रम चलाइरहेको छ । कांग्रेसको एकमहीने अभियान अन्तर्गत नेता तथा कार्यकर्ता गाउँ गाउँ तथा घर घर पुगिरहेका छन् ।