एजेन्सी, चैत्र ९
भारतको राजधानी नयाँ दिल्लीमा एक आतंकवादी समूहले हमला गर्ने धम्की दिएको छ । तहरीक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो ।
धम्की दिएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको छ ।
दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक–ए–तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख गरेको छ ।
हमला बारे जानकारी हुने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो ।
सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो । दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको छ । दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास समेत गरिरहेको जनाएको छ ।