रौतहट, चैत्र ९
रौतहटको हर्षाहामा दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमालेमा विवाद देखिएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले गरिररहेको आन्दोलनप्रति एमालेकी सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।
सो घटनालाई लिएर पोलिटव्यूरो सदस्य प्रभु साह पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि सांसद झाले प्रभु साहले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई ‘राजनीतिकरण’ गरेको आरोप समेत लगाएकी छिन् भने उनले पार्टी कार्यकर्तालाई आन्दोलनमा नजान आग्रहसमेत गरिन् ।
उनले भनिन्, ‘दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु । साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउँदै गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु ।’
एमालेकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ सांसद झाले भनिन्, ‘कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्न÷नगराउन सचेत गराउँदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु ।’
मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीले २ चैतमा ठक्कर दिँदा जितेन्द्र पटेल र हरिकुमार ठाकुरको मृत्यू भएपछि जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् ।
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पोलिटब्युरो सदस्य प्रभु साहकी श्रीमती हुन् भने नगरपालिकालाई भाडामा गाडी चलाउन दिने नागेन्द्र उनका भाइ हुन् ।
गाडी दुर्घटनामा पोलिटब्युरो सदस्य साहको परिवार जोडिएपछि साहले त्यसमा निरन्तर आपत्ति जनाउँदै आएका छन् ।