जनकपुर, चैत्र ९

धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले शिक्षकमाथि विभेद गरेको आरोप लगाएका छन् ।

उनले आफु निकटका शिक्षकलाई वास्ता गरेको र अन्य शिक्षकलाई बेवास्ता गरेको भन्दै उनको विरोध शिक्षकहरुले गरेका छन् । शिक्षकहरु समेत दुई धु्रवमा विभाजित भएका छन् ।

मेयर बरबरियामाथि केही शिक्षकलाई तलब दिएर अन्य शिक्षकहरुलाई वञ्चित गरेको आरोप लागेको छ ।

मेयर बरबरियाले विद्यालय कर्मचारीलाई स्थानीय सरकारले थप्नुपर्ने तलब पटक पटक आग्रह गर्दा पनि नदिएको भन्दै शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म सो अुनसार तलब नपाएको उनीहरुको गुनासो छ ।

गत असोज ६ गते र चैत ६ मा समेत तलब वृद्धि सहितको ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि मेयर बरबरियाले ध्यान नदिएपछि उनीहरुले विद्यालयको कामकाज बन्द गरी शहिदनगर नगरपालिका कार्यालय अगाडि धर्ना दिएका हुन् ।

गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको भन्दै बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।

विधेयक पारित भइसकेपनि बजेट पनि मेयर बरबरियाले दिन आलटाल गर्दा आफूहरु आन्दोलनमा उत्रेको उनले बताइन् । बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने समेत उनीहरुले अडान लिएका छन् ।

संघीय सरकारले विद्यालय कर्मचारीको १३ हजार ५ सय, बालविकास सहजकर्ताको ८ हजार र कार्यालय सहयोगीलाई ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन अध्यादेशबाट बजेट पारित गरेको थियो ।