“शहिद रामवृक्षको शालिक हटाइनु जनयूद्ध विरोधी हर्कत”

जनकपुर, चैत्र १०

स्थानीय तह निर्वाचनको तयारीका क्रममा नेकपा माओवादी केन्द्रले मधेस प्रदेशको प्रशिक्षण जनकपुरधामके तिरहुतिया गाछिमा सम्पन्न गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । तर नेता मातृकाप्रसाद यादव भने देखिएनन् । नेता मातृका यादव नदेखिँदा नेता तथा कार्यकर्ता वीच समेत कौतुलहता जागेको थियो ।

आफूलाई स्वागत र विदाई गर्न विमानस्थलमा पुगेका नेता यादव प्रशिक्षण कार्यक्रममा भने अनुपस्थित भएकोमा प्रचण्ड स्वयंले पनि उनीप्रति असन्तुष्टि जनाएका थिए । नेता यादव भने आफ्नो जिम्मेवारी केही नभएकाले प्रशिक्षण कार्यक्रममा नगएको बताउँछन् । ृउनले भने, ‘मेरो जिम्मेवारी केही थिएन, जिम्मेवारी केही नभएकाले आफ्नै काममा लागेँ,’ उनले भने, ‘अध्यक्ष कमरेडलाई चाहिँ स्वागत गएको थिएँ, विदाइ पनि गरेँ ।’

मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड र अर्का नेता नाराणकाजी श्रेष्ठ नेतृत्वको दुई समूह छ । यी बाहेकका पनि सानातिना गुटहरु पनि आ–आफ्नै गुट छन् ।

माओवादीमा मधेश प्रदेशमा भने अलि पृथक आयाम छ । नेता श्रेष्ठ र नेता मातृका यादव समूहको शक्ति संघर्ष असहिष्णु खालको छ । एकले अर्काको अस्तित्व नै स्वीकार्नु भन्दा नेतृत्वमा रहेकाले निषेध गरि राजनीतिक हावी हुने दाउमा तत्कालिन जनमोर्चा पक्षधरहरु छन् ।

नेता यादव, प्रचण्डले जनयुद्ध लडेकालाई पाखा पारेर अरुलाई च्यापेको र श्रेष्ठ समूहलाई अनावश्यक भाग दिइरहेको ठान्छन् । हालै भएको केन्द्रीय सदस्य नियुक्तिबारे पनि यादवले असन्तुष्टि जनाएका छन् । माओवादीबाट प्रदेश समितिमा ९ जना थप्दा आफूसँग परामर्श नगरी सबै श्रेष्ठ समूहबाट थपेको भन्दै नेता यादवले पार्टी केन्द्रमा लिखित असन्तुष्टि समेत दर्ता गराएका छन् ।

नेता यादवको अर्को असन्तुष्टि नेता कार्यकर्ता समायोजनमा पनि छ । तत्कालीन नेकपा माओवादीले श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकता गरेसँगै नेता यादव असन्तुष्ट भएर छुट्टै पार्टी गठन गरेका थिए । नेकपा माओवादीलाई ब्यूँताएका यादव २०७३ जेठमा पुनः माओवादीको मुलधारमै फर्किएका थिए । तर आफ्ना पक्षमा नेता कार्यकर्ताको समायोजन हुन नसकेको यादवको गुनासो छ ।

दुबै समूह पार्टीको मधेस प्रदेशमा हाबी हुन चाहन्छ । श्रेष्ठ समूहका नेता गिरिराजमणि पोखरेलको महोत्तरीमा राम्रो प्रभाव छ । उनले त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन् । तत्कालीन कम्युनिष्ट नेता निर्मल लामाको समेत प्रभाव क्षेत्र भएकाले श्रेष्ठ पनि त्यहाँ निरन्तर आउने जाने गरिरहेका छन् ।

श्रेष्ठ र यादव समूहको झगडाले प्रचण्ड सकसमा छन् । दुवै समूहलाई मिलाउन गाह्रो भएपछि उनले मधेश प्रदेशको नेतृत्व समेत मध्यमार्गी नेतालाई सुम्पिन चाहेका छन् । नेकपा संयुक्तबाट आएका नेता गणेश साह माओवादीको मधेश प्रदेश इन्चार्ज छन् ।
मध्यमार्गी मानिएका नेता साह आफूले दुवै पक्षबीचमा ट्राफिक जस्तो भएर काम गरिरहेको बताउँछन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य योगकुमार बरबरियाले भने ‘सबैलाई लखेटेर आफू राजा बन्ने’ प्रवृत्ति केही नेतामा देखिएको बताउँछन् ।

प्रदेश समिति गठनमा सकस

गुटगत विवादकै कारण २५ मंसिरमा उद्घाटन भएको प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वसहितको समिति गठन हुन सकेको छैन ।

श्रेष्ठले आफ्ना मान्छे मात्रै समितिमा पार्नुपर्ने गुटगत होडले गर्दा लामो समयसम्म प्रदेश समिति नै बन्न सकेको छैन । अन्य प्रदेशले पूर्णता पाएर स्थानीय चुनावका लागि कमाण्ड समेत बनाइसकेको अवस्थामा मधेश प्रदेशले त्यो गरेको छैन ।

मधेश प्रदेशका इन्चार्ज साह १५ गते हुने बैठकमा प्रदेश समिति गठन गरेर पदाधिकारी समेत टुंग्याउने प्रयासमा लगोको बताउँछन् ।

शहिद रामवृक्ष यादवको शालिक विवाद

No description available.

माओवादीले जनयूद्धमा केन्द्रीय नेतृत्वबाट शहीद हुनेहरुमा रामवृक्ष यादव पनि एक हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकुहरुलाई समायोजना प्रक्रियाका लागि अस्थायी शिविरमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ११ को खैरमारामा स्थापना गरिएको थियो ।

बिग्रेडको नामकरण पनि शहिद रामवृक्ष यादवकै नाममा गरिएको थियो । भने शहिद यादवको सालिक समेत स्थापना गरिएको थियो । लडाकू समायोजन सकिएपछि यादवको सालिक संरक्षणविहीन भयो । तत्कालीन नेकपा सरकारमा पोखरेल शिक्षामन्त्री भएपछि उनले आफ्नो क्षेत्रमा एउटा बहुप्राविधिक शिक्षालय बनाउने आयोजना लगे ।

लडाकु शिविर बसेकै स्थानमा निर्मल लामा बहुप्राविधिक शिक्षालय बनाउने गरी काम अगाडि बढाए । निर्माणका क्रममा उक्त क्षेत्रमा रहेको शहिद रामवृक्ष यादवको शालिक हटाइयो । गत पुसमा बसेको माओवादी केन्द्रको आठौं महाधिवेशनमा रामवृक्ष यादवको सोही शालिक हटाएको विषयमा उग्र विवाद भएको थियो ।

महाधिवेशनमा तत्कालिन प्रदेश २ बाट समूहको रिपोर्टिङ गर्ने क्रममा सत्यनारायण भगतले शहिद रामवृक्ष यादवको सालिक हटाएको विषयमा कुरा उठाएका थिए । उनले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शालिक हटाएर ‘राजनीतिक अपराध’ गरेको आरोप जाडदाररुपमा लगाएपछि यसले विवाद भएको थियो ।

आफूलाई गम्भीर आरोप लगाएपछि पोखरेल पक्षका नेताहरुले शब्द फिर्ता नलिएसम्म बन्दसत्र चल्न नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि नेता कृष्णबहादुर महराले पहल गरेर नेता भगतले बोलेको शब्द फिर्ता लिन लगाए र पोखरेल बन्दसत्रमा सहभागी भएका थिए ।

यो विषयलाई गत फागुन २० मा बसेको केन्द्रीय समिति बैठकको एजेन्डा बनाइएको थियो । तर त्यसमाथि कुनै निर्णय भएन । श्रेष्ठ समूहका नेताहरु सहमतिमै उक्त शालिक हटाइएको भएपनि अहिले अनावश्यक रुपमा विषय उठाइएको बताउँछन् ।
रामवृक्ष यादवको साटो निर्मल लामालाई स्थापित गरेर वर्गीय मुक्ति र जनयूद्ध विरोधी मानसिकताले श्रेष्ठ समूह ग्रस्त रहेर पार्टीमा रहेका जनयूद्धकालिन नेता कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने, निषेध गर्ने जस्ता गतिविधिले तत्कालिन नेकपा माओवादीका अधिकांश नेता तथा कार्यकर्ता बाध्यतावश पार्टी छाड्ने क्रम जारी रहेको एक नेताले बताउँछन् ।
पार्टी भित्र यस्तै रवैया रहेमा स्थानीय निर्वाचनमा माओवादीलाई असर पार्ने उनको दावी छ ।