एजेन्सी, चैत्र १०
नेपालमा निकै चलेको साउथ इन्डियन फिल्म ‘बाहुबली’ ले नेपाली दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनीले र प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रो अर्थ आर्जन गरे । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो ।
साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै गयो । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्न सफल भयो ।
नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढ्न थाल्यो । तर, केजीएफ, साहो, पुष्पालगायतका फिल्मले नेपालमा साउथको स्वाद झनै बढायो ।
भिडियो फिल्मझैँ नेपालमा पनि प्रदर्शन हुने साउथ इन्डियन फिल्महरू रिलिजकै दिन हलमा आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापारपछि खिलाडी, वलीमै, राधेश्याम नेपाल आइसकेका छन् । चैत ११ मा ‘आरआरआर’ आउँदैछ । नेपाली दर्शकलाई साउथ फिल्मतर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्म उत्तिकै प्रतिक्षित रहेको छ ।
भारतीय फिल्मलाई विश्वभर चिनाउने र साउथ इन्डियन फिल्मलाई बलिउडको छायाँबाट बाहिर लाने श्रेय निर्देशक राजामौलीलाई नै जान्छ । आफ्नो फिल्म निर्देशन यात्रामा सफलता मात्र नभई नयाँ प्रयोगसमेत गर्न रुचाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म ‘आरआरआर’ हो । फिल्ममा साउथका दुई स्टार छन्, जुनियर एन्टीआर र रामचरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिए पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन् । बलिउड अर्थात् नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन पनि थपिएका छन् भने साथमा आलिया भट्ट छिन् ।
यति धेरै स्टारकास्ट लिएर पनि निर्देशक राजामौलीले कन्टेनलाई नै फोकस गरेका छन् । फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडि बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधन गरेक छन् । एक भिडियोमार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुनेबारे बताएका छन् ।
‘नमस्ते, सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरोतर्फबाट माया । राजामौली’ उनले भिडियोमा भनेका छन् ।
राजामौलीले भिडियो सन्देश पठाउने बेलामा नेपालमा बाहुबालीपछि साउथ इन्डियन फिल्मको दर्शक हलमा बढेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको वितरकले जनाएका छन् ।
नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनी ए एट फिल्मस्ले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकांश शोहरू फिलिङ फास्ट छन् ।