काठमाण्डौँ, चैत्र १०
पदमुक्त भएकी प्रतिनिधिसभा सदस्य सरिता गिरीको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार २०७७ मा सर्वोच्च पुगेकी थिइन् ।
रिटमार्फत उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न मागसमेत गरेकी छिन् । जनता समाजवादी पार्टी नेपालको संसदीय दलले निष्कासन गर्न भन्दै सचिवालयलाई पठाएको पत्र पनि गैरकानुनी भएको उनले भनेकी छिन् ।
यसअघि २०७७ साउन ४ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीको मुद्दामा अन्तरिम आदेश दिनुपर्ने निर्णय गरेको थियो । सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा गिरी प्रस्तावको विपक्षमा उभिएकी थिइन् ।
पार्टीकै सांसद प्रस्तावको विपक्षमा उभिएपछि जसपाले ह्विप जारी गरेको थियो । तर नेतृ गिरी संसद् बैठक बहिस्कार गर्दै बाहिरिएकी थिइन् । त्यसपछि उनलाई उमाशंकर अरगरिया प्रमुख सचेतक रहेको जसपा नेपालको तत्कालीन संसदीय दलले पार्टीको साधारण सदस्यबाट हटाउँदै सांसद पदबाट निष्कासन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । पत्राचारपछि सचिवालयले उनलाई निष्कासन गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च अदालतमा पुगिन् ।