काठमाण्डौँ, चैत्र १०

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गर्ने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् ।

सो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित कार्यसूचीमा रहेका सबै विषय पारित गर्नुका साथै चैत मसान्तभित्र ६ मापदण्ड अनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्न समेत निर्देशन दिएको छ ।

स्थानीय तहमा तालमेल गर्ने अधिकार स्थानीय तहहरूलाई नै दिएपनि केन्द्रबाट तालमेल भने नगर्ने निर्णयसमेत बैठकले गरेको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० का लागि तय भएको छ ।

तमांगले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ मा पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिबद्धतापत्र जारी गरिने छ ।
अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल सम्वाद गर्ने जानकारी उनले दिए ।