पर्सा, चैत्र १०
पर्सामा सबै भन्दा बढी वीरगञ्ज महानगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार अनुसन्धान आयोग हेटौंडाले वीरगञ्जमा अयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन अन्तरक्रियामा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी उजुरीको तथ्यांकमा जिल्लामा रहेका पालिकामध्ये वीरगञ्ज महानगरपालिका विरुद्ध सबैभन्दा बढी अख्तियारमा उजुरी परेको हो ।
अख्तियारको कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार चालु वर्षको फागुन मसान्तसम्म वीरगञ्ज महानगरविरुद्ध ५८ वटा उजुरी अख्तियारमा परेको छ ।
यस गत आर्थिक वर्षको सोही अवधिभन्दा बढी हो । गत आर्थिक वर्षमा भने ३४ वटा उजुरी अख्तियारमा महानगरविरुद्ध परेको थियो । सोमध्ये गत वर्षमा १७ र चालु वर्षमा ३३ गरी ५० वटा उजुरी फस्र्याेट भएका छन् ।
त्यस्तै गत वर्षमा १७ वटा र चालु वर्षमा २५ वटा उजुरी फस्र्याेट हुन बाँकी छ । जिल्लामा सबैभन्दा कम पटेर्वा सुगौली गाउँपालिकाविरुद्ध चालु वर्षमा शून्य र गत आर्थिक वर्षमा एउटा मात्रै उजुरी अख्तियारमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार परेको एउटा उजुरी भने फस्र्याेट हुन बाँकी छ । जिल्लामा रहेका १४ वटा पालिकाहरू गरी गत वर्ष र चालु वर्षको फागुन मसान्तसम्म जम्मा २ सय ३२ वटा उजुरी अख्तियारको कार्यालय हेटौँडामा परेको थियो ।
जसमध्ये ९० वटा उजुरी फस्र्याेट भएको तथा १ सय ४२ वटा उजुरी फस्र्याेट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।