जनकपुर, चैत्र १०

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवार बनाउने सर्तमा एक दलबाट अर्को दलमा जानेहरुको संख्यामा निकै वृद्धि भएको छ ।

टिकट पक्का हुने होडवाजी चलेसंगै मधेश प्रदेशमा दल बदल गर्ने नेता देखि जनप्रतिनिधिहरु पनि छन् ।

गाउँपालिकाका वडा सदस्यदेखि महानगरका मेयरसम्मले पार्टी परिवर्तन गरिरहेका छन् ।

पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको मेयरका लागि चर्चित व्यक्तिहरूले पार्टी परिवर्तन गरेपछि चर्चा परिचर्चा बढेको छ । मधेशको केन्द्र मानिएको वीरगञ्ज महानगर यतिवेला चर्चामा छ ।

पछिल्लो पटक मधेश आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । ७ चैतमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सिंहलाई स्वागत गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सिंह एमाले प्रवेश गर्ने तयारीमा थिए । तर, उनीभन्दा अघि वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गरे। त्यसपछि उनको यात्रा जसपातिर मोडियो ।

सरावगी एमालेमा प्रवेश गरेपछि वीरगञ्जको मेयरको उम्मेदवारको टिकट आफूले पाउने सम्भावना नदेखपछि सिंहले जसपा रोजेका हुन् । अन्तिम समयमा एमालेका केही नेताले आफूलाई भन्दा सरावगीलाई महत्त्व दिएपछि जसपा रोजेको उनले बताउँदै आएका छन् ।

नेता सिंहले भने, “मैले मेयर सरावगीको गलत क्रियाकलापको विरोध गर्दै आएको छु । एमालेमा जाँदा त्यसको साक्षी बस्नुपर्ने अवस्था आएकाले जसपा रोजेको हुँ ।” उनलाई जसपा सांसद प्रदीप यादवले आफ्नो पार्टीमा प्रवेश गराउन पहल गरेका थिए ।

उनलाई वीरगञ्जको मेयरको उम्मेदवार बनाउने जसपा नेताहरूले सार्वजनिक कार्यक्रमै बताइसकेका छन् । पार्टी प्रवेश कार्यक्रममा मधेशका मुख्य मन्त्री एवं जसपा नेता लालबाबु राउतले सिंहलाई नै उम्मेदवार बनाउने बताए ।

“गठबन्धन भएको खण्डमा पनि वीरगञ्ज महानगरको सीट छाडिन्न, त्यो सीटमा राजेशलाई नै उम्मेदवार बनाउँछौं,” राउतले भने ।

२०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति शुरू गरेका नेता सिंह २०५४ सालमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । २०६४ मा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा राजपाबाट वीरगञ्जको मेयरको उम्मेदवार बनेका थिए । उनले १२ हजार १६५ मत पाएका थिए। त्यति वेला मेयरमा निर्वाचित संघीय समाजवादी फोरमका सरावगीले १९ हजार ३९३ मत पाएका थिए ।
उनै सरावगी भने अहिले नेकपा (एमाले) मा प्रवेश गरिसकेका छन् । उनलाई २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । उनी पनि मेयरको उम्मेदवार बन्नकै लागि एमालेमा प्रवेश गरेका हुन् ।

जसपामा उनको चर्को आलोचना हुँदै आएको छ । मेयरका रूपमा उनले राम्रोसँग काम गर्न नसकेको गुनासो छ। जसले गर्दा उनलाई जसपाले दोहो¥याउने सम्भावना थिएन । मेयरको उम्मदेवार बनाउने पक्कापक्की भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेको एक नेताले बताए ।

उनी भने जसपामा जातिवादी चिन्तन विकसित भएकाले परित्याग गरेको बताउँछन् । मेयर सरावगीले भने, “आफूलाई राष्ट्रिय पार्टी भन्छन्, जातिवादी चिन्तनबाट ग्रसित छन् ।”

मेयर सरावगी एमालेमा गएपछि जसपाले पनि एमाले नेता तथा कार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेको छ । यही क्रममा एमालेका तर्फबाट संविधानसभा सदस्य बनेकी रञ्जु ठाकुरलाई जसपामा प्रवेश गराइएको छ । उनलाई पनि यादव र भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेकी ठाकुर २०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य बनेकी थिइन् ।

त्यसपछि सप्तरीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेकी थिइन् । पार्टीको हरेक मोर्चामा आफूले काम गरे पनि त्यस अनुसार मूल्याङ्कन नभएको गुनासो गरिन् ।