काठमाण्डौँ, चैत्र ११
सिरहामा सत्तारुढ दलका एक नेतासंग विवादमा मुछिएका प्रहरी उपरीक्षक कारवाहीमा मात्रै परेनन् । बरु उनको पदोन्नतिसमेत खोसिएको छ ।
नेपाली कांग्रेसका सिराहा जिल्ला सभापति रामचन्द्र यादवसँग विवादमा मुछिएका प्रहरी उपरीक्षक हराबहादुर पाण्डे कारबाहीमा परेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले उनको एक वर्ष पदोन्नति रोक्का गरेको जनाइएको छ ।
घटनाको छानविनका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालयले बनाएको समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही भएर प्रहरी उपरीक्षक पाण्डेको निलम्बन फुकुवा भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
प्रहरी उपरीक्षक पाण्डे ८ असार २०७८ मा सिराहा प्रहरी प्रमुखका रुपमा सरुवा भएर गएका थिए । तर बीचमै फिर्ता बोलाइएको थियो ।
उनीनिकट स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न दबाब दिएका थिए । तर प्रहरी उपरीक्षक पाण्डेले भने उनले भनेको काम गरेनन् । सभापति यादवलाई सहयोग नगरेपछि आफ्नो सरुवा भएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका थिए ।
सरुवा भएपछि पाण्डे हतियारसहित यादवको घरमा गएर धम्क्याउने कोशिश गरेको यादव पक्षले बताएको थियो । यो विषय गृह मन्त्रालयसम्म पुगेपछि पाण्डेलाई निलम्बन गरेर छानविन थालिएको थियो ।
सिरहाको प्रहरी उपरीक्षकमा अर्जुन तिम्सिना छ ।