एजेन्सी, चैत्र ११

नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकपमा पुग्न असफल भएका छन् ।

अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो ।

तरपछि इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिए ।

जसकारण गर्दा इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । विश्व फुटबलको महामेलामा चार पटकको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिनाअघि रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो–२०२० को फाइनलमा इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो ।

बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो । सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भएको थियो ।

विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्ने भएको छ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३–१ गोलले पराजित गरेको थियो ।

फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदैछ ।