पर्सा, चैत्र ११

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई मधेश प्रदेशकै पहिलो पर्यटकीय गन्तव्यरुपमा घोषणा गरेको छ ।

शुक्रबार पर्साको ठोरीस्थित जंगल रिसोर्टमा रुख मुनि बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्याउन प्रदेश सरकारले १० करोड रुपैयाँ ठोरी गाउँपालिकालाई दिने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, ‘पर्यटकलाई लोभ्याउन पूर्वाधार निर्माणसहितको कार्यक्रम गर्न ठोरी गाउँपालिकालाई १० करोड रुपैयाँ दिने निर्णय गरेका हौं,’ उनले भने, ‘यो आर्थिक वर्षमै निर्णय गरिएको बजेटबाट उपलब्ध गराउने प्रयास गर्छौँ ।’

यस वर्ष दिन नसकिए आगामी आर्थिक वर्षमा पूरै रकम उपलब्ध गराइने उनले जानकारी दिए । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन मधेस सरकारले पहिलो निर्णय गरेको उनले जानकारी दिए ।

May be an image of 14 people and people standing

मुख्यमन्त्री राउतको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, अर्थ मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद कुमार यादव पनि सहभागी रहेका थिए ।

बैठकपछि मुख्यमन्त्री राउत मधेस सरकारका मन्त्रीसहित पर्यटकीय क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएका थिए ।

भारतीय सिमानासँग जोडिएको पर्साको दुर्गम गाउँपालिका ठोरीमा घुम्न आउने पर्यटकमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय हुने गरेको ठोरीका होटल तथा पर्यटन व्यवसायीको भनाई छ ।