भगवान झाले पाउँलान् उन्मुक्ति त ?
जनकपुर, चैत ११
काम विशेषले जनकपुरधाम आएका मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निवर्तमान सचिव यमप्रसाद भुषाल ठेकेदार व्यवसायीहरुको फसादमा परेका छन् ।
करिब २ महिना अघि मधेश सरकारको मुख्यमन्त्री कार्यालयबाट संघीय सरकार अन्तर्गत सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त शाखामा जगेडामा रहेका मुख्यमन्त्री कार्यालयका तत्कालिन सचिव भुषाल माथि ठेकेदार व्यवसायीहरुले विकास निर्माण सम्बन्धी कामको फाइल नै गायब पारेको आरोप लगाउँदै उनलाई घेराबन्दी गरेपछि उनी फसादमा परेका हुन् ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट करिब तीन दर्जन विकास निर्माण कार्य योजनाको फाइल गायब रहेको खुलासा भएको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर कामसम्पन्न भइसकेको योजनाको फाइल गायब रहेको खुलेको हो ।
मुख्यमन्त्री कार्यालयका एक पूर्व सचिवलाई निर्माण व्यवसायीहरुले मधेश भवन स्थित मुख्यसचिवको निवासमा ठेकेदारहरुले घेरेपछि यस्तो रहस्य बाहिरिएको हो । दुई महिना अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा भएर सचिव यमप्रसाद भुषाल गइसकेका थिए । कुनै काम विशेषले दुई महिनापछि जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयमा आएको जानकारी आएपछि ठेकेदारहरुले घेराउ गर्न पुगेका थिए । उनलाई करिब ८ घण्टासम्म मुख्यसचिवको निवासमा घेरेका थिए ।
सचिव भुषाल आएको सुइको पाएपछि बिहीबार बिहानै ९ बजेदेखि अपरन्ह ५ बजेसम्म मधेश भवन भित्रको पहिला उनी बस्ने क्वाटरमा व्यवसायीहरु घेरेका थिए । उनीहरुले गायब गरिएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने अडान लिएर ठेकेदार व्यवसायीहरुले घेरेका थिए । ठेकेदारले घेरा हाल्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई सुरक्षा दिएका थिए । उनलाई त्यहाँबाट सकुशल मधेश भवनबाट बाहिर निकालेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
निवर्तमान सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा त्यहाँ उनी बेटी पढाउ बेटी बचाउ, र स्वच्छता अभियान कार्यक्रमका मुख्य हाकिम थिए । उनी कार्यालयमा हुँदा कमिसन वापत २० प्रतिशत लिने गर्थे र नदिएपछि भुक्तानी नगरेको र सरुवा भएपछि योजनाका फाइलहरु नै लिएर भागेको एसके मल्टि सप्लायर्सका सञ्चालक दशरथ साहले बताए ।
उनले निवर्तमान सचिवमाथि आरोप लगाउँदै भने, ‘सचिव भुषाल सरुवा भएर जाँदा कार्यालयमा हामीले भुक्तानीको लगि बुझाएको फाइल नै नरहेको कर्मचारीहरुले बताउने गरेका छन् । हामी दुई महिनादेखि भौतारिरहेका छौं’ व्यवसायी साहले भने ‘२० प्रतिशत पहिला नै कमिसन दिनुपर्ने अडान राखेका थिए । हामीले पहिला भुक्तानी गर्न भन्याँै । आलटाल गर्दागर्दै पछि सरुवा भएपछि फाइल नै लिएर भागे ।’
बुधबार सचिव भुषाल जनकपुर आएको सुइको पाएपछि उनलाई घेरा हालेको ठेकेदार सुशील सिंहले बताए ।
एसके मल्टि सप्लायर्सले प्रदेश प्रमुख कार्यालयमा फर्निचर, मर्मत, शौचालय निर्माणसहितको २५ लाखको काम गरेको बताएको छ । साहले आफ्नै एसके कन्ट्रक्सनबाट प्रदेश प्रमुख कार्यालयको पर्खाल निर्माण र रंगरोगनको ५ लाखको काम गरेको उनले बताए ।
अर्का कम्पनी गौरी एण्ड उज्ज्वल कन्ट्रक्सनले विभिन्न नारा लेखिएको मुख्यमन्त्रीको तस्बिर सहितको होर्डिंग बोर्डको ३३ लाख रुपैयाँ भुक्तानी रहेको संचालक अरुण यादवले बताए ।
ठेक्कापट्टा गर्ने कम्पनीको ३२ वटा फाइल गायब गरेको र सो फाइलहरु नभेटिँदा व्यवसायीहरु पीडित भएको उनले बताए ।
करिब ४० करोड रुपैयाँ भन्दा बढी रुपैयाँ अनियमतिता भएको हुन सक्ने अनुमान ठेकेदार व्यवसायीहरुको छ ।
यता सचिव भुषालले आफूले कमिसन नदिँदा भुक्तानी नगरेको भनि ठेकेदारहरुले लगाएको आरोप निराधार रहेको बताए । उनले कार्यालयको फाइल घर लग्न नमिल्ने भएकाले आफूले कुनैपनि फाइल घरमा नलगेको बताए । उनले भने, ‘फाइलहरु घरमा लान मिल्दैन, केही सामग्रीहरु सरुवा भएर जाने बेलामा कार्यालय प्रमुख र जिन्सी शाखा प्रमुख नहुँदा दराजमै फाइलहरु बन्द रहेको र सोको साँचो आफुसंग रहेकाले बुझबुझारथ गर्न बाँकी छ ।’
यता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब रहेको सम्बन्धमा अनभिज्ञता प्रकट गरे ।
उनले यस सम्बन्धमा आफुलाई केही थाहा नभएको बताए ।
निवर्तमान सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्र अन्तर्गत साईकल खरिद सम्बन्धि फाइल र मुख्यमन्त्री स्वच्छता सम्बन्धी केहि फाइल लगेको थियो । स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई ताकेता गर्दै आएको छ ।
त्यतिबेला स्वच्छ अभियानलाई ईन्जिनीयर भगवान झाले निर्देशकको रुपमा हेर्दै आएका थिए । उनले तत्कालिन सचिव भुषाललाई प्रभावमा पारि कमिसनको चक्करमा विकास निर्माणको काम धमाधम गरेका थिए । तर सो कमिसन वापतको रमक नपाएपछि सचिव भुषालले फाईलको प्रक्रिया अघि नबढाई पेन्डिंगमा राखेको आरोप ठेकेदार व्यवसायीहरुको रहेको छ ।
स्रोतको दावी अनुसार भगवान झाकै कारणले गर्दा अहिले आएर तत्कालिन सचिव भुषाल उनको षड्यन्त्रको शिकार भएको बताइन्छ ।