
जनकपुर, चैत्र ११
मधेश प्रदेशको राजनधानी जनकपुरधामबाट आफ्नै घर आँगनमा खेलिरहेकी एक बालिकाको अपहरण भएको करिब २४ घन्टा नवित्दै अपहरणकारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जनकपुरधामको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षिया बालिकालाई धनुषा प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो ।
अपहरण गरेका आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ समेत गरेको छ ।
बिहीबार साँझ अपहरणमा परेकी बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ बफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुलचोकका ध्रुव मण्डलको ४ वर्षीया छोरीलाई बिहीबार साँझ जनकपुरधामस्थित घरमा खेल्दै गर्दा अपहरण गरेको थियो । अपहरणकारीले शुक्रबार विहान फरक–फरक मोवाइल नम्बरबाट फोन गरी १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।
धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराउन सफल भएको हो । अपहरणकारीलाई पक्राउ गर्न धनुषा प्रहरीले ४ राउण्ड हवाई फायर समेत गर्नु परेको प्रहरी उपरीक्षक रजौरेले बताए । हवाई फायरबाट कुनै पनि किसिमको मानवीय क्षती भने भएन ।
अहरणकारीले फिरौती मागेपछि अपहरित बालिका खोज्न धनुषा प्रहरीलाई सहज भएको थियो । प्रहरी र सञ्चारमाध्यमलाई जानकारी गराएमा बालिकाको हत्या गर्ने अपहरणकारीले धम्की दिँदै पीडित परिवारजनसंग फिरौती मागेका थिए । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरुको पहिचान प्रहरीले भने अझैसम्म पनि खुलाएको छैन ।