जनकपुर, चैत्र १२
स्थानीय तहको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीका लागि करिब ६९ हजारले आवेदन फारम भरेका छन् ।
मधेस प्रदेशमा ६८ हजार १९ जनाले ४० दिनको म्यादी प्रहरीका लागि आवेदन दिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले देशभर १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेस प्रदेशमा २१ हजार ६९८ जनाको माग गरेको छ । तर माग भन्दा तीन गुणा भन्दा बढी आवेदन परेको हो ।
म्यादी प्रहरी भर्नाका लागि आइतबार देखि शुक्रवारसम्मको समय निर्धारण गरिएको थियो । सो अवधिमा सबैभन्दा बढी बारामा आवेदन परेको छ ।
बारामा ११ हजार २ सय ६७ जनाले आवेदन दिएका छन् । बारामा २ हजार ५२८ जना म्यादी प्रहरी माग गरिएको थियो ।
त्यस्तै बारापछि सर्लाहीमा सबैभन्दा बढी आवेदन परेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सर्लाहीमा ३ हजार ८८ जना म्यादी प्रहरी माग गरिएकोमा १० हजार ८ सय ५१ जना आवेदन भरेका हुन् । सप्तरीमा ३ हजार १३९ जनाको माग गरिएकोमा ९ हजार ४३४ जनाले दरखास्त भरेका छन् ।
त्यस्तै धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी माग गरिएकोमा ९ हजार २१, महोत्तरीमा २ हजार ७३६ माग गरिएकोमा ८ हजार ५४, रौतहटमा २ हजार माग गरिएकोमा ६ हजार ६८४, सिरहामा २ हजार ३३१ माग गरिएकोमा ६ हजार ५०७ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएकोमा ६ हजार २०१ जनाले दरखास्त भरेका छन् ।