जनकपुर, चैत १२
मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रमक राज्य व्यवस्था कार्यान्वयनसंगै राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुमा वैचारिक तथा सैद्धान्तिक विचलन आएको छ ।
पार्टीमा पद, पैसा र शक्ति आफु अनुकुल प्रयोग तथा दुरुपयोग गर्न नसक्दा पनि नेता तथा कार्यकर्ताहरु स्वार्थसिद्ध गर्नका लागि भएपनि दल परिवर्तन गर्ने होडवाजी चलेको छ ।
स्थानीय तहको निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ । नेताहरु टिकट पाउनका लागि टिकेट पाउन दौडधूप शुरु गरेका छन् । कोही पार्टी नेतृत्वपंक्ति समक्ष टिकेटका लागि लबिङ्ग गरिरहेका छन् त कोही पार्टी नै छोडेर अन्य पार्टीको साथ खोजि रहेका छन् । यसको पछिल्लो उदाहरण हुन् विरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी हुन् ।
उनी तत्कालिन संघिय समाजवादी पार्टीबाट विरगंज महानगपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । तर स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा टिकेट फेरी नपाउने छाँटकाँट देखेपटि टिकेट पाउनकै लागि नेकपा एमालेको शरणमा पुगे । सरावगीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयंले पार्टीमा स्वागत गरेका थिए ।
जसपा नेपाल त्यागेर सरावगी एमालेमा प्रवेश गरेपछि एमालेमा टिकेट पाउनकै लागि प्रवेश गर्ने मन बनाएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह भने जसपा प्रवेश गरे । चैत ७ गते वीरगंजमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले सिंहलाई पार्टीमा स्वागत गरे ।
वीरगंजका नगरप्रमुख सरावगी एमालेमा गएपछि जसपाले पनि एमाले नेता तथा कार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेको छ । यही क्रममा एमालेका तर्फबाट संविधानसभा सदस्य रहेकी रञ्जु ठाकुरलाई जसपामा प्रवेश गराइएको छ । उनलाई पनि जसपा अध्यक्ष यादवले पार्टीमा स्वागत गरे ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गईरहेको समयमा टिकट पाउनका लागि चलिरहेको दल परिवर्तनको होडवाजीलाई राजनीतिक विश्लेषकहरु यसलाई सिद्धान्तहिन राजनीतिकको संज्ञा दिन्छन् ।
नेपाल रहेका दलहरुमा धनबल रहेका व्यक्तिहरुको जमात मात्रै रहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी आरोप लगाउँछन् । नेपालमा वर्तमान परिप्रेक्ष्यमा वैचारिक राजनीतिक नभई धनबलको राजनीति भईरहेको छ, जनकपुरीले भने ‘ वैचारिक राजनीतिक समाप्त हुँदै गईरहेको, दलहरुमा व्यापारी, ठेक्केदारहरुको हालीमुहाली बढिरहेको छ ।’ अगाडी भने ‘यस प्रकारको परिपाटीले जो पैसाबाला छ उ नै चुनाव जित्छ, जो चतुर छ उ नै चुनावी प्रतिस्पर्धामा बाजी मार्छ ।’
पार्टीलाई नेतृत्व गर्नेहरु नै आफ्न दलप्रति ईमान्दार नभएका कारण यस प्रकारको परस्थितिको श्रृजना भईरहेको जनकपुरीको भनाई छ । उनले दलहरुको नेतृत्व गर्नेहरु जनताप्रति त ईमान्दार छैनन तर आफ्नै दल र आफ्नै दलको एजेण्डाप्रति ईमान्दार भई दिए यस्ता समस्याहरु समाधान हुने जनकपुरीको भनाई छ ।
जनकपुरीको भनाईलाई प्राध्यापक रामसागर पण्डितपनि समर्थन गर्छन् । उनी भन्छन् ‘पार्टीलाई लिड गर्नेहरु आफ्नो सिद्धान्तबाट विचलित नभए केही समयका लागि क्षति त हुन्छ तर दिर्घकालिन रुपमा फाइदा पुग्नेछ । प्रजातन्त्रमा दलहरुको महत्वपूर्ण भूमिका हुन्छ र दलहरु बिना प्रजातन्त्रको परिकल्पना पनि गर्न सकिदैन तर अहिले टिकेटकै लागि दल परिवर्तन गर्नेहरुको होडवाजीका कारण प्रजातन्त्रको आधार नै कमजोर हुँदै गईरहेको पण्डिले बताए । उनले भने ‘तर टिकेट पाउनकै लागि सिद्धान्तलाई कुनै महत्व नदिई दल बदल्ने नेताहरुका कारण प्रजातन्त्रको आधार कमजोर हुँदै गईरहेको छ, देशमा भ्रष्टाचार बढ्दै गईरहेको छ ।’ अगाडी भने ‘अहिले दल वा जनताका लागि नभई व्यक्तिगत स्वार्थ पुर्तीका लागि राजनीति गर्नेहरुको जमात बढ्दै गईरहेको छ ।’ यस्तो परिस्थितीमा पनि नेताहरुमा चेत नआएमा हाम्रो देशमा पनि श्रीलंका जस्तो हुने पण्डितको भनाई छ ।