जनकपुर, चैत्र १२

तराई मधेश लोकतान्त्रिक पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममासमृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई तमलोपाले लिएको छ ।

तमलोपाले जारी गरेको घोषणापत्रमा जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख छ ।
तमलोपाले संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित समेत गरेको छ ।

१० प्रदेशीय राज्य पुनःसंरचना, संविधानको संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै भूमिहीन, दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच, कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेस विकासको निमित्त दिर्घकालिन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समावेश गरिएको तमलोपाका केन्द्रिय अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए ।

उनले तमलोपाले स्थानीय निर्वाचन र पार्टीबारे छलफल गर्न जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा स्थानीय चुनावमा होमिनु परेको बताए ।

उनले भने, ‘दलीय भागवण्डा, भ्रष्टाचार, जातीवाद, उम्मेदवार खरिद बिक्री आदिका कारणले दृष्टि, सीप, अभिव्यक्ति, सोंच, प्रतिवद्धता भएकाहरु अगाडि आउन र शहर तथा गाउँको विकासमा योगदान दिन आह्वान छ ।’

अध्यक्ष लालले आफ्नो पार्टी खिचडी गठबन्धनको पक्षमा नरहेको समेत स्पष्ट पारे । लोकतन्त्रका निमित्त लोकतान्त्रिक शक्तिहरुबिच गठबन्धन जरुरी रहेको उनको भनाई छ । नेपाली कांग्रेस वामपन्थीहरुको ‘हात बढाएर घाँटी समात्ने’ षड्यन्त्रको जालोमा फँसेको अध्यक्ष लालको दावी छ ।

सो कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा.विजय कुमार सिंहले तमलोपा भविष्यमा देशलाई राजनीतिक विकल्प दिने दावी गरेका छन् ।
लोसपा, जसपालगायतका पार्टीहरु चुनावका लागि मात्र संविधान संशोधनको कुराहरु गरिरहेको उनको कथन थियो ।