नेता मातृकाप्रसाद यादवले स्थास्थ्य अवस्था बारे जानकारी
जनकपुर, चैत्र १२
सत्तारुढ जनता समाजवादी पार्टी नेपालले आफ्ना प्रमुख सचेतक प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो ।
सो आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले एक विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई सांघातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।
पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना गराएको र त्यसबाट प्रमुख सचेतक साहलगायतलाई अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।’
घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ । साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
यता प्रमुख सचेतक साहको उपचार काठमाण्डौँमा भईरहेको छ । उनको स्वास्थ्य उपचार बारे बुझ्नका लागि नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले भेटघाट गरेका छन् ।